नेपालबाट चोरिएका र हराएका २४ कलाकृति आज अमेरिकाबाट नेपाल फिर्ता


प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार

वाशिङटन, डीसीस्थित नेपाली दूतावासले आज अमेरिकाबाट २४ वटा कलाकृतिहरू नेपाल सरकारको पुरातत्व विभागलाई फिर्ता पठाएको छ। नेपालबाट हराएका र चोरिएका यी कलाकृतिहरु अप्रिल १९, २०२४ मा सुसान ब्राडफोर्डबाट हवाईको माउईमा प्राप्त भएका थिए । दूतावासका द्वीतीय सचिव उत्तम घिमिरेलाई माउई हवाईमा यी कलाकृतिहरू हस्तान्तरण गरिएको थियो ।

यी कलाकृतिहरू ब्राडफोर्डको निजी संग्रहका रुपमा रहेका थिए । उनले स्वेच्छिक रूपमा ती कलाकृतिहरु नेपाल फिर्ता पठाउन दूतावासलाई सम्पर्क गरेकी थिइन् । यी अधिकांश कलाकृतिहरू १७ औं र १८ औं शताब्दीका छन् । केही कलाकृतिहरु १३ औं शताब्दीका समेत छन्। ती कलाकृतिहरू नेपाल पठाउन ब्राडफोर्ड आफैंले ढुवानी खर्च बेहोरेकी छिन् ।

यी बहुमूल्य कलाकृतिहरू नेपाल सरकारलाई फिर्ता गरेकोमा दूतावासले सुश्री ब्राडफोर्डप्रति हार्दिक आभार प्रकट गरेको छ । कलाकृतिहरु फिर्ता गर्नुको महत्त्वबोध गर्दै उनले यसबाट हराएका कला सम्पदालाई उचित स्थानमा फर्काउन अरूलाई पनि प्रेरणा दिने आशा व्यक्त गरेकी छिन् ।

दूतावासले नेपालबाट हराएका र चोरी भएका कलाकृतिहरु फिर्ता ल्याउने प्रयास स्वरुप नेपाल र अमेरिकाका सम्बन्धित निकायहरू, कला अनुसन्धानकर्ताहरू, अभियानकर्ताहरू, मिडिया र निजी व्यक्तिहरूसँग सम्पर्क गर्दै सक्रिय रूपमा पहल गर्दै आएको छ । दूतावासले यी प्रयासहरूका लागि यी सबै निकायहरू र व्यक्तिहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

फिर्ता पठाइएका कलाकृतिहरुमा ढलोटको कालाकुवेर मूर्ति, ढलोटको विश्वरुपको मूर्ति, तामामा सुन जलपलगाएको महिषासुर मर्दिनीको मूर्ति, तामामा सुन जलपलगाएको मोक्षदाभनिएको महामन्जुश्री शक्तिको मूर्ति, ढलोट विघ्नान्तक भैरवको मूर्ति, तामा प्रज्ञापारमिताको मूर्ति, ढलोट किन्नरी (अप्सरा) को मूर्ति, तामा÷ढलोटतान्त्रिक देवता (मन्जुश्री शक्ति) मूर्ति, काठको बाराहीको मूर्ति, काठको चमुण्डाको शीर, प्रस्तर सरस्वतीको मूर्ति, प्रस्तरको मन्जुश्री शक्ति, प्रस्तरको अगस्थमुनिको मूर्ति, हस्तलिखित ग्रन्थ, बाराही, अपारमिता र कुवेरका सानामूर्तिहरु, तामाको कालीयन्त्र, हाडको सितापाती यन्त्र, काठको फुर्वा, फलामको ताल्चा, ढलोट सिन्हमु (सिन्दुर दानी), फलामको त्रिशूल लगायत छन् ।

यी २४ वटा कलाकृतिहरूसँगै अमेरिकामा रहेको नेपाली दूतावासले हालसम्म एक वर्षको अवधिमा कुल ६३ वटा कलाकृति नेपाल पठाउन सफल भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आज फिर्ता पठाइएका कलाकृतिहरु: 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com