राहतमा सेप्टेम्बर १२ देखि साप्ताहिक ४ सय डलर दिने पक्षमा ह्वाइटहाउस


प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार

ह्वाइट हाउसले अमेरिकामा काम गुमाएकाहरुलाई सेप्टेम्बर १२ देखि लागु हुनेगरी साप्ताहिक ४ सय डलर दिने व्यवस्था सहितको राहत प्याकेजमा समर्थन जनाएको छ । हाउस स्पीकर न्यान्सी पेलोसीले २ दशमलव २ ट्रिलियनको प्याकेज प्रस्ताव गर्दा उक्त रकम धेरै भएको बताउँदै ह्वाइट हाउसले १ दशमलव ६ ट्रिलियन डलरको प्रस्ताव गरेको छ ।

हाउस स्पीकर न्यान्सी पेलोसी र ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनबीच बिहिबार पनि सहमति कायम हुन भने सकेको छैन । चुनाव नजिकिदै गर्दा सांसदहरु आआफ्ना क्षेत्रमा फर्केर चुनावमा लाग्नुपर्ने भएकाले राहत प्याकेज छिटो पारित हुन नसके चुनाव अगाडि पारित हुननसक्ने परिदृश्य समेत रहेको छ ।

capitol hill

पेलोसीले पूर्ण सहमति कायम नभएपनि केही विषयमा भने सहमति कायम भएको बताएकी छिन् । तर सबै विषयमा सहमति नभएसम्म यसलाई सहमति भन्न नसकिने उनको भनाई छ । विहिबार पनि मन्चिन र पेलोसीबीच ५० मिनेट कुराकानी भएको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत प्रदान गरिएको साप्ताहिक ३ सय डलरको अवधि समाप्त भइसकेको छ । ह्वाइट हाउस त्यसको एक सातापछि सेप्टेम्बर १२ बाट साप्ताहिक ४ सय डलर दिनुपर्ने पक्षमा रहेको छ । तर डेमोक्र्याट्सहरु सेप्टेम्बर ६ पछि लागु हुनेगरी साप्ताहिक ६ सयको व्यवस्था हुनुपर्ने र यस्तो व्यवस्था जनवरी ३१ सम्म लागु हुनुपर्ने पक्षमा छन् ।

दोश्रो चरणको १२ सय डलरको राहत चेक उपलब्ध गराउने पक्षमा भने सबै पक्षहरु सहमत रहेका छन् । काम गुमाएकाहरुलाई साप्ताहिक ६ सय र अन्य कैयन विषयमा कुनै सहमति कायम हुन नसक्दा अगस्तदेखि कुनै पनि बिल पारित हुन सकेको छैन ।

 

 

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com