दोश्रो चरणको १२ सय डलरको चेक र साप्ताहिक ६ सयसहितको नयाँ बिल सार्वजनिक


प्रकाशित मिति : आश्विन १३, २०७७ मंगलबार

capitol hill

अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाका डेमोक्रेटिक सांसदहरुले २ दशमलव २ ट्रिलियन डलरको नयाँ बिल सार्वजनिक गरेका छन् । सोमबार सार्वजनिक गरिएको उक्त बिलमा अमेरिकामा दोश्रो चरणको १२ सय डलरको राहत चेक र काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक ६ सय डलर समेटिएको छ ।

यसअगाडि डेमोक्रेटिक सांसदहरुले हाउसबाट ३ दशमलव ४ ट्रिलियन डलरको बिल पारित गरेका थिए । तर रिपब्लिकनहरु यति ठूलो बिलको पक्षमा नभएपछि उक्त बिल सिनेटमा अगाडि बढ्न सकेको थिएन । अहिले त्यसमा १ ट्रिलियन डलरभन्दा बढी रकम कम गरेर ल्याइएको छ । आफूहरु १ ट्रिलियन घटेकाले रिपब्लिकनहरु १ ट्रिलियन बढेर उक्त बिलमा सहमति जनाउन डेमोक्रेटिक सांसदहरुले आग्रह गरेका छन् ।

सोमबार हाउस स्पीकर न्यान्सी पेलोसी र ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनबीच राहत प्याकेजका बारेमा अतिरिक्त छलफल समेत भएको छ । पेलोसीले नयाँ प्रस्तावमा छलफलका लागि रिपब्लिकनहरु अगाडि आउने अपेक्षा गरेको बताएकी छिन् ।

यो बिलमा सेप्टेम्बर ६ देखि नै लागु हुनेगरी आगामी जनवरी ३१ सम्म काम गुमाएकाहरुलाई बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायताका अतिरिक्त साप्ताहिक ६ सय डलर दिने प्रावधान समेटिएको छ । साथै १२ सय डलरको दोश्रो चरणको राहत चेक दिने र आश्रीतहरुलाई अतिरिक्त ५ सय डलर दिने पनि बिलमा समेटिएको छ ।

स्थानीय र राज्य सरकारहरुलाई अतिरिक्त सहायताका लागि ४३६ बिलियन डलर दिने र पेचेक प्रोटेक्सन प्रोग्राम पनि चालु गर्ने विषय विलमा समावेश छ । विद्यालयहरुलाई सहायताका लागि २२५ बिलियन डलर र कोरोनाको परीक्षण र ट्रेसिंगका लागि ७५ बिलियन डलर प्रदान गर्ने विषय बिलमा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com