आज बाइडेन र ट्रम्पबीच पहिलो बहस, पूर्व सन्ध्यामा बाइडेनको कर विवरण पनि सार्वजनिक


प्रकाशित मिति : आश्विन १३, २०७७ मंगलबार

आज अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेनबीच पहिलो बहस ओहायाको क्लीभल्याण्डमा हुने भएको छ । न्युयोर्क समय अनुशार बेलुका ९ बजेदेखि सुरु हुने यो बहसलाई अमेरिकी राजनीतिक बृत्तमा निकै चासोका साथ हेरिएको छ ।

फक्स न्युजका क्रिस वालेसले बहसको संचालन गर्नेछन् भने अमेरिकामा मुख्य संचारमाध्यमहरुले उक्त बहसको प्रशारण गर्ने भएका छन् । बहसमा कोरोनाको महामारीका कारण राष्ट्रपतिका उम्मेदवारहरुले हात मिलाउनु नपर्ने भएको छ । हलमा केही दर्जनमात्र दर्शकहरु उपस्थीत हुनेछन् भने उपस्थीत सबैको कोरोना परीक्षण गरिनेछ । तर उक्त बहस अनलाइन र टेलिभिजनमार्फत संसारभर हेर्न सकिनेछ ।

झण्डै ९० मिनेट चल्ने बहसमा ट्रम्प र बाइडेनका रेकर्डहरु, सर्वोच्च अदालत, कोरोना महामारी, अर्थशास्त्र, चुनावको अखण्डता, विभेद र हिंशाका घटनाहरु हुनेछन् । यी ६ वटा शीर्षकमध्ये हरेक शीर्षकमा बहसका लागि १५ मिनेट समेत तोकिएको छ । उक्त १५ मिनेटभित्र दुबै उम्मेदवारहरुले आफ्ना भनाई राख्नुपर्नेछ ।

बहसको पूर्व सन्ध्यामा न्युयोर्क टाइम्समा ट्याक्सबारे प्रकाशित समाचारका कारण ट्रम्पलाई अप्ठ्यारो परेको छ । सन् २००० यताका १० बर्षमा ट्रम्पले विजनेशबाट ट्याक्स नतिरेको र २०१६ मा जम्मा ७५० डलर तिरेको रिपोर्ट न्युयोर्क टाइम्सले प्रकाशित गरेको थियो ।

यसैबीच डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले आफ्नो ट्याक्स रिपोर्ट सार्वजनिक गरेका छन् । जो बाइडेन र उनकी पत्नीले गतबर्ष ९ लाख ४४ हजार ७ सय ३७ डलर आम्दानी गरेका थिए भने संघीय करबापत ३१ प्रतिशत अर्थात् २ लाख ९९ हजार ३ सय ४६ डलर तिरेका थिए । बाइडेन दम्पत्तिले १४ हजार ७ सय डलर परोपकारमा खर्च गरेका थिए ।

बाइडेनको कर विवरण यहाँ हेर्नुहोस् ।

सन् २०१७ मा भने बाइडेन जोडीले ११ मिलियन डलर आम्दानी गरेका थिए । त्यस्तै २०१८ मा भने साढे ४ मिलियन डलर कमाएका थिए ।

कमला ह्यारिसको कर विवरण यहाँ हेर्नुहोस् ।

त्यस्तै गतबर्ष उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिस दम्पत्तिले ३० लाख १८ हजार १ सय २७ डलर आम्दानी गरेका थिए । संघीय करबापत ३९ प्रतिशत अर्थात् ११ लाख ५ हजार ६ सय २८ डलर तिरेका थिए । उनीहरुले ३५ हजार ३सय ९० डलर परोपकारमा खर्च गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com