न्युयोर्कमा कोरोना संक्रमण १.५ प्रतिशत, संक्रमितमध्ये १० वटा जिपकोडमा मात्र २५ प्रतिशत


प्रकाशित मिति : आश्विन १२, २०७७ सोमबार

new york corona mask

न्युयोर्क राज्यमा आइतबार कोरोना संक्रमण दर बढेर १ दशमलव ५ प्रतिशत पुगेको छ । जुन मध्य जुलाई यताकै सबैभन्दा धेरै हो । बु्रकलिन, रकल्याण्ड र अरेन्ज काउन्टीहरुमा एकाएक संक्रमण बृद्धि भएपछि दर बढेको हो । जुलाई १३ पछि न्युयोर्कमा संक्रमण दर आइतबार सबैभन्दा धेरै देखिएपछि चिन्ता व्यक्त गरिएको छ ।

कोरोना संक्रमण बढेका स्थानमा स्वास्थ्य विभागका टोलीहरु पठाउन लागिएको न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले बताएका छन् । न्युयोर्क सिटीका रेष्टुरेण्टहरु २५ प्रतिशत इन्डोर क्षमतामा संचालन हुने तयारी भइरहँदा संक्रमण दर बढेको हो । संक्रमण २ प्रतिशत पुगेमा इन्डोर संचालन गर्ने योजना स्थगित हुनेछ ।

बु्रकलिनमा मात्र संक्रमणदर अहिले २ दशमलव ६ प्रतिशत पुगेको छ । न्युयोर्क सिटीमा संक्रमणदर १ दशमलव २ प्रतिशत रहेको छ । आइतबार न्युयोर्कमा कुल ८३४ मा संक्रमण पुष्टी भएको थियो । अस्पतालमा भर्ना रहेकाहरुको संख्या ५४३ रहेको थियो । आइतबार ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

गभर्नर कुमोले सबै न्युयोर्कबासीलाई मास्क लगाउन अनुरोध गरेका छन् । साथै परीक्षण गराउन र सामाजिक दुरी कायम गर्न सुझाव दिएका छन् । बु्रकलिन, अरेन्ज काउन्टी र रकल्याण्डमा बस्नेहरुलाई विशेष सावधानी अपनाउन र गम्भिरताका साथ लिन कुमोले आग्रह गरेका छन् ।

आइतबार संक्रमण पुष्टी हुनेहरुमध्ये २५ प्रतिशत १० वटा जिपकोड निवासीहरु रहेका छन् । १० जिपकोडहरुमध्ये ४ स्थान बु्रकलिनका हुन् ।

सबैभन्दा बढी न्युयोर्कको ग्रेभसेण्ड र होमक्रिस्टमा परीक्षण गरिएकाहरुमध्ये ६ दशमलव ७५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । मिडउडमा ५ दशमलव ३४ प्रतिशतमा र क्यु गार्डेनमा ३ दशमलव ८२ प्रतिशतमा संक्रमण देखिएको छ ।

एजमेयर र फार रकवेमा ३ दशमलव शुन्य ९ प्रतिशतमा संक्रमण पुष्टी भएको छ । बोरो पार्कमा ४ दशमलव ६३ प्रतिशतमा संक्रमण देखिएको छ । म्यापेल्टन र बेन्सनह्रस्टमा ४ दशमलव ४१ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।

फ्लाटल्याण्ड क्षेत्रमा ३ दशमलव ८५ प्रतिशतमा र विलियम्सबर्गमा १ दशमलव ७८ प्रतिशतमा संक्रमण देखिएको छ । सिप्सहेड बे मा ३ दशमलव ९१ प्रतिशतमा संक्रमण देखिएको छ ।

त्यस्तै रेगो पार्कमा २ दशमलव ४६ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । क्यु गार्डेन हिल्स र पोमोनोकमा २ दशमलव ३६ प्रतिशत संक्रमण देखिएको छ । केन्सिङटन र विन्डस्र टेरेसमा २ दशमलव ३१ प्रतिशतमा संक्रमण देखिएको छ । म्यानहटन बीच क्षेत्रमा २ दशमलव २१ प्रतिशतमा संक्रमण देखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com