महामारीमा सुरु न्युयोर्क सिटीको ‘आउटडोर डाइनिङ’ अब सधैभरी


प्रकाशित मिति : आश्विन ९, २०७७ शुक्रबार

कोरोनाको महामारीमा न्युयोर्क सिटीमा सुरु गरिएको ‘आउटडोर डाइनिङ’ अब सधैभरी कायम राखिने मेयर बिल डे ब्लाजिओले घोषणा गरेका छन् । कोरोनाको महामारीका कारण न्युयोर्कका रेष्टुरेण्टहरुले बाहिरपट्टी खाना खाने स्थलहरु बनाएर रेष्टुरेण्ट संचालन गरिरहेका छन् ।

आउटडोर डाइनिङको अनुभव निकै सकारात्मक र लोकप्रिय भएको भन्दै मेयरलाई यसलाई अब सधैभरी कायम राख्ने बताएका हुन् । खुला रेष्टुरेण्ट कार्यक्रमले न्युयोर्कका रेष्टुरेण्टहरुलाई सडक र फुटपाथ लगायतका स्थानमा साना कटेजहरु बनाएर खाना खाने सुविधा दिने अनुमति प्रदान गरेको छ ।

न्युयोर्कका १० हजारभन्दा धेरै रेष्टुरेण्टहरु यो कार्यक्रममा सहभागी भएका छन् । न्युयोर्कको तापक्रम घट्दै जाँदा बाहिरपट्टी खानाखाने सुविधा दिइएका यस्ता रेष्टुरेण्टहरु संचालनमा प्रश्नचिन्ह भने खडा भएको छ । यद्यपी न्युयोर्कमा २५ प्रतिशत क्षमतामा रेष्टुरेण्टभित्र खानाखाने सुविधा पनि सुरुवात गर्न लागिएको छ ।

फोटो: कोलिन एभरी

तर कोरोनाको संक्रमण दुई प्रतिशत पुगेमा भने रेष्टुरेण्टभित्र खाने व्यवस्था पुन खारेज गरिनेछ । न्युयोर्कका क्वीन्स र बु्रकलिनमा कोरोना संक्रमण समुहगत रुपमा पाइएपछि चिन्ता बढेको छ । शुक्रबार कोरोनाको संक्रमण १ दशमलव शुन्य ८ प्रतिशत कायम भएको छ ।

कोरोनाको महामारीका कारण न्युयोर्कका दर्जनौं रेष्टुरेण्टहरु सधैका लागि बन्द भएका छन् । चिसो मौषममा आउटडोर संचालन कठिनायी हुने भएकाले अरु धेरै रेष्टुरेण्टहरु बन्द हुने जोखिममा रहेका छन् ।

मेयर ब्लाजिओले ‘आउटडोर डाइनिङ’का क्रममा चिसोमा तातोको व्यवस्था हुनुपर्ने बताएका छन् । न्युयोर्क सिटीको योजना अनुशार फुटपाथ र सडक छेउमा विद्युतीय हिटरहरु प्रयोग गर्न अनुमति दिइने भएको छ । तर त्यसका लागि फायर डिपार्टमेन्टको अनुमति लिन जरुरी हुनेछ ।

हिमपात हुनसक्ने सम्भावना भएकाले नोभेम्बर १५ सम्म सडक र ग्राहकहरुबस्ने स्थानमा रेष्टुरेण्टहरुले बार लगाउनुपर्नेछ । अहिलेसम्म सडकमा रेष्टुरेण्ट संचालनका लागि कम्तीमा ८७ वटा स्ट्रीटहरु बन्द गरिएका छन् । मेयरले यो संख्या बढाउने बताएका छन् ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com