जनगणनामा न्युयोर्कमा झण्डै ९६ प्रतिशतको गणना, डेडलाइन सेप्टेम्बर ३०


प्रकाशित मिति : आश्विन ५, २०७७ सोमबार

जनगणनामा न्युयोर्क राज्यमा ९५ दशमलव ९ प्रतिशतको गणना भइसकेको अमेरिकाको जनगणना ब्यूरोले अनुमान गरेको छ । न्युयोर्कमा ६३ प्रतिशतले आफै अनलाइन, फोन वा पत्रमार्फत जनगणनामा सहभागी भएको जनाइएको छ ।

आफै जनगणनामा सहभागी नभएकाहरुलाई गणना गर्नका लागि कैयन गणकहरु खटाइएको छ । जनगणना समाप्त हुन ९ दिनमात्र बाँकी रहेको अवस्थामा न्युयोर्कमा आफै अनलाइन, फोन वा हुलाकमार्फत जनगणना गर्नेहरुको प्रतिशत अन्य कैयन राज्यको तुलनामा भने कम रहेको छ ।

आफै अनलाइन, फोन वा पत्रमार्फत जनगणनामा सहभागी हुनेहरु सबैभन्दा धेरै मिनेसोटामा ७४ दशमलव ६ प्रतिशत रहेका छन् भने सबैभन्दा कम पोर्तोरिकोमा ३४ दशमलव २ प्रतिशत रहेका छन् । अहिलेसम्म सबैभन्दा धेरै ९९ दशमलव ८ प्रतिशतको अनलाइन र गणकमार्फत गणना भइसकेको छ ।

न्युयोर्कको ज्याक्सनहाइटमा स्थानीय सरकारका तर्फबाट नेपाली भाषामा राखिएको डिजिटल सुचना ।

अमेरिकाभर ९५ दशमलव ४ प्रतिशतको गणना भइसकेको जनगणना ब्यूरोले जनाएको छ । अमेरिकाभर आफै अनलाइन, फोन वा हुलाकमार्फत जनगणनामा सहभागी हुनेहरु ६६ दशमलव १ प्रतिशत रहेका छन् ।

यसपटक अमेरिकामा नेपालीभाषीहरुलाई जनगणनामा सहभागी गराउनका लागि केन्द्रीय जनगणना ब्यूरोले विभिन्न खाले अभियानहरु संचालन गरेको छ । नेपाली भाषामा नै विज्ञापनहरु प्रकाशित गर्नुका साथै नेपाली भाषामा वेवसाइट समेत बनाइएको छ ।

न्युयोर्क सिटीले पनि नेपाली भाषामा सामाजिक सञ्जालहरु, अनलाइन लगायतका संचारमाध्यमहरु र सार्वजनिक स्थानमा राखिएका बोर्डहरुमा जनगणनाका विज्ञापनहरु राखेको छ । विगतको जनगणनाको तुलनामा यसपटक नेपाली भाषीलाई पनि प्राथमिकता दिइएको छ ।

अमेरिकामा झण्डै ३ लाख नेपालीहरु रहेको अनुमान गरिएको छ भने नेपाली भाषीको संख्या झण्डै ५ लाख अनुमान गरिएको छ । जसमा भारतको केही भूभागका नेपालीभाषी, बर्माका नेपाली भाषी र भुटानका नेपालीभाषीहरु समेत पर्छन् । अमेरिकामा झण्डै १ लाख ग्रिनकार्डवाहक नेपाली र झण्डै ५० हजार नेपाली अमेरिकनहरु रहेका छन् ।

जनगणनामा कुनै पनि इमिग्रेशन स्टाटस भएका, कुनै पनि भिसामा भएकाहरु सहभागी हुन योग्य हुन्छन् । अमेरिकामा हुने विद्यार्थीहरुदेखि जोसुकै पनि जनगणनामा सहभागी हुन्छन् । उनीहरुको कुनै पनि विवरण अरु एजेन्सीहरुलाई प्रदान गरिदैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com