न्युयोर्कबासीलाई बाँकी ९ सय डलर एकैदिनमा नदिइने


प्रकाशित मिति : आश्विन ५, २०७७ सोमबार

काम गुमाएका न्युयोर्कबासीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले व्यवस्था गरेको साप्ताहिक तीनसय गत शुक्रबार एकैपटक तीनसाताको ९ सय डलर प्राप्त गरेका थिए । उनीहरुले अगस्त २, अगस्त ९ र अगस्त १६ को साताका लागि साप्ताहिक ३ सयका दरले ९ सय एकैदिनमा प्राप्त गरेका थिए ।

तर अगस्त २३, अगस्त ३० र सेप्टेम्बर ६ को साताको रकम भने एकैदिनमा नआउने भएको छ । पहिले नै अतिरिक्त रकमका लागि योग्य भएकाहरुले र प्रमाणिकरण गरिसकेकाहरुले अगस्त २३ को साताको ३ सय डलर सेप्टेम्बर २२ मा, अगस्त ३० को साताको ३ सय डलर सेप्टेम्बर २३ मा र सेप्टेम्बर ६ को साताको ३ सय डलर सेप्टेम्बर २४ मा प्राप्त गर्नेछन् ।

कतिपय बैंकमा यो रकम प्राप्त हुन एकदेखि २ दिनसम्म लाग्ने जनाइएको छ । सेप्टेम्बर २२ को ५ बजेसम्म प्रमाणिकरण गर्नेहरुले सेप्टेम्बर २४ मा ३ सय डलरसम्म पाउन योग्य हुनेछन् । उक्त डेडलाइनभित्र प्रमाणिकरण नगर्नेहरुलाई रकम पठाउन ढिलो हुने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ ।

यसैसाता ९ सय डलर प्राप्त भइसकेपछि संघीय सरकारबाट प्राप्त हुने अतिरिक्त रकम समाप्त हुनेछ । बाँकी साताहरुका लागि यो रकम स्वीकृत भएको छैन । अमेरिकी संसदबाट पनि काम गुमाएकाहरुलाई अतिरिक्त रकम प्रदान गर्ने बिल अहिलेसम्म पारित हुन सकेको छैन ।

पहिले नै योग्य भएकाहरुलाई योग्य भएको इमेल पठाइएको छ । उनीहरुले कुनै कदम चाल्नुपर्नेछैन । तर प्रमाणिकरण गर्नुपर्नेहरुलाई डकुुसाइनमार्फत इमेल पठाइएको छ । उनीहरुले डकुसाइनमार्फत प्रमाणिकरण गरेर पठाउनुपर्नेछ । उनीहरुले ८३३ ४९१ ०६३२ मा फोन गरेर पनि प्रमाणिकरण गर्नसक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com