हावामा हुने कणबाट कोरोना सर्ने सीडीसी निर्देशिका ३ दिनमै परिवर्तन


प्रकाशित मिति : आश्विन ५, २०७७ सोमबार

शुक्रबार अमेरिकन सीडीसीको निर्देशिकामा हावामा हुने कणहरुमा कोरोनाको भाइरस अड्केर बसेको खण्डमा सर्नसक्ने उल्लेख गरिएकोमा सोमबार निर्देशिकाबाट उक्त शब्द हटाइएको छ । ड्राफ्ट भर्सनमा हावाबाट सर्ने कुरा उल्लेख भएकोमा गल्तीले वेवसाइटमा त्यही ड्राफ्ट भर्सन प्रकाशित भएको सीडीसीले जनाएको छ ।

कैयन महिनादेखि सीडीसीले व्यक्तिबीच हुने नजिकको सम्पर्कबाट कोरोना भाइरस प्राथमिक रुपमा सर्ने बताउँदै आएको थियो । मुख वा नाकबाट निस्कने ड्रपलेटको माध्यमबाट नजिकको सम्पर्कमा आएको व्यक्तिलाई कोरोना सर्ने निर्देशिकामा जनाइएको छ । तर शुक्रबार हावामा तैरिने कणबाट समेत सर्ने भन्दै निर्देशिकामा थप गरिएको थियो ।

सोमबार सीडीसीले शुक्रबार थपिएका शब्दहरु हटाएको छ । साथै व्यक्तिसँग नजिकको सम्पर्कमा आउँदा ड्रपलेटमार्फत कोरोना भाइरस सर्ने कुरालाई नै निर्देशिकामा पुन राखेको छ । सीडीसीका प्रवक्ताले निर्देशिकामा परिवर्तनका लागि केही सिफारिसहरु भएको ड्राफ्ट गल्तीले प्रकाशित भएको स्पष्ट पारेका छन् ।

तर सीडीसीले हावाबाट कोरोना सर्ने सन्दर्भका सिफारिसहरु अपडेट गर्ने सन्दर्भमा अझै काम गरिरहेको प्रवक्ताको भनाई छ । प्रकृया पूरा भएपछि अपडेट गरिएको भाषा प्रकाशित हुने उनले बताएका छन् । अर्थात् अवको निर्देशिकामा हावामा तैरिने कणमा कोरोना भाइरस भएमा सर्नसक्ने कुरा उल्लेख हुने सम्भावना रहेको छ ।

सीडीसीले हावाको माध्यमबाट कोरोना सर्ने कुरा सम्भव भएको बताउन चाहन्छ । तर त्यही नै कोरोना सर्ने प्राथमिक माध्यम भने होइन । केही महिनादेखि कैयन वैज्ञानिकहरुले हावामा तैरिने कणहरुमा कोरोना भाइरस बस्न सक्ने र त्यसबाट सर्नसक्ने कुरा स्वीकार गर्न जनस्वास्थ्य एजेन्सीहरुलाई सुझाव दिदै आएका छन् ।

यदि कोही कोरोना संक्रमित व्यक्तिले हावामा खोकेको खण्डमा कोरोना भाइरस केही मिनेटदेखि घण्टासम्म त्यहाँ तैरिनसक्ने र अर्को व्यक्ति त्यही स्थानबाट गुज्रदा उक्त व्यक्तिमा संक्रमण हुनसक्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com