सर्वोच्च अदालतको न्यायाधिसमा अर्को साता महिलाको नाम सिफारिस गर्ने ट्रम्पको घोषणा


प्रकाशित मिति : आश्विन ३, २०७७ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता सर्वोच्च अदालतको न्यायाधिसका लागि महिलाको नाम सिफारिस गर्ने बताएका छन् । आफ्ना समर्थकहरुमाझ बोल्दै ट्रम्पले जब ‘हामी खाली सिट भर्न गइरहेका छौं’ भनेका थिए तब समर्थकहरुले ‘खाली सिट भरौं’ भन्दै नारा लगाएका थिए ।

प्रगतिशिल न्यायाधिस रुथ बेडर गिन्सबर्गको निधनपछि सर्वोच्च अदालतमा एकजना न्यायाधिसको सिट खाली भएको छ । गिन्सबर्गको निधनपछि सर्वोच्चका ९ न्यायाधिसमध्ये ३ जनामात्र डेमोक्र्याट्सले नियुक्त रहेका प्रगतिशिल न्यायाधिसहरु रहेका छन् ।

अमेरिकाको सर्वोच्च अदालतकी न्यायाधिस रुथ बेडर गेन्सबर्गको निधन एको एक घण्टा नबित्दै हिजै सिनेटका रिपब्लिकन नेता मिच म्याक्कोनेलले उनको स्थानमा नियुक्तिका लागि प्रस्ताव गरिने न्यायाधिसका पक्षमा सिनेटमा मतदान गरिने बताएका थिए । चुनाव अगाडि नै नयाँ न्यायाधिस नियुक्त गरिएको खण्डमा अमेरिकाको सर्वोच्च अदालतमा ६ जना रिपब्लिकनले नियुक्त गरेका न्यायाधिस र ३ जना डेमोक्र्याट्सले नियुक्त गरेका न्यायाधिसहरु हुनेछन् ।

सर्वोच्च अदालतमा ६ जना कन्जरभेटिभ न्यायाधिस हुँदा अमेरिकाको राजनीतिक परिदृश्यमा ठूलो असर पर्नसक्ने सम्भावना रहन्छ । गेन्सबर्गको निधन अगाडि सर्वोच्च अदालतमा ५ जना रिपब्लिकन नियुक्त र ४ जना डेमाक्र्याट्स नियुक्त न्यायाधिसहरु रहेका थिए । ५ जना कन्जरभेटिभ र ४ जना लिबरल न्यायाधिस हुँदा प्राय राष्ट्रिय मुद्दामा रिपब्लिकनका पक्षमा निर्णय हुँदै आएको थियो ।

नोभेम्बरको चुनाव अगाडि नै रिपब्लिकनले नयाँ न्यायाधिस नियुक्त गर्न सफल भएमा यसको असर अमेरिकी राजनीतिमा आगामी कैयन बर्षसम्म पर्नेछ । अमेरिकाको सर्वोच्च अदालतका न्यायाधिस नियुक्त गर्दा राष्ट्रपतिले नोमिनेशन गर्ने र सिनेटमा मतदान हुने प्रावधान रहेको छ । सिनेटमा साधारण बहुमतले पारित गरेमा मात्रपनि उक्त व्यक्तिलाई न्यायाधिस नियुक्त गरिन्छ ।

अहिलेको अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत रहेकाले राष्ट्रपतिले नोमिनेशन गरेको न्यायाधिसका पक्षमा मत जुटाउन रिपब्लिकनहरुलाई कुनै गाह्रो छैन । गेन्सबर्गको मृत्युको घोषणा भएको एकघण्टा पनि नबित्दै सिनेटमा रिपब्लिकन नेता म्याक्कोनेलले वक्तब्य जारी गरेर राष्ट्रपतिले नोमिनेट गरेको व्यक्तिलाई मतदान गरेर नियुक्तीको बाटो खोल्ने बताइसकेका छन् । यद्यपी कसलाई नियुक्त गर्ने भन्नेबारे अहिलेसम्म केही स्पष्ट छैन ।

राष्ट्रपति ट्रम्पले आफ्ना पक्षका न्यायाधिसलाई नियुक्त गर्न यथाशीघ्र कदम चाल्ने अनुमान गरिएको छ । तर ट्रम्पले शुक्रबार यसबारे केही बताएका छैनन् । उनले केबल स्वर्गीय गेन्सबर्ग असल महिला भएको मात्र प्रतिकृया दिएका छन् । राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले भने चुनाव हुन ४६ दिनमात्र बाँकी रहेको अवस्थामा चुनाव अगाडि सिनेटबाट न्यायाधिसको नाम पारित गर्न नहुने बताएका छन् ।

सन् २०१६ मा न्यायाधिस एन्टोनिन स्कालियाको निधन फरबरीमा हुँदा तत्कालिन राष्ट्रपति बराक ओबामाले गाल्र्याण्डलाई नोमिनेट गरेका थिए । तर सिनेटले चुनाव अगाडि न्यायाधिसको नाममा मतदान गरेन । पछि डोनाल्ड ट्रम्प नियुक्त भइसकेपछि निल गोर्सचलाई नियुक्त गरेका थिए भने सिनेटले पनि उनको नाम पारित गरेको थियो ।

चुनाव हुन जम्मा ४६ दिन रहेको अवस्थामा नयाँ न्यायाधिसको नामबारे सिनेटमा मतदान हुन नहुने डेमोक्र्याट्सले बताएपनि ट्रम्प र रिपब्लिकनहरु यसमा सहमत हुने सम्भावना भने निकै कम छ । बिल क्लिन्टनले गेन्सबर्गलाई सन् १९९३ मा सर्वोच्च अदालतको न्यायाधिस नियुक्त गर्दा पनि झण्डै ७० दिन लागेका थियो ।

यसअगाडि सन् २०१८ मा रिटायर्ड भएका एन्थोनी केनेडीको स्थानमा पनि डोनाल्ड ट्रम्पले नै न्यायाधिस नियुक्त गरेका थिए । एन्थोनी केनेडीलाई रोनाल्ड रेगनले नियुक्त गरेपनि उनी सधै कन्जरभेटिकका पक्षमा भने उभिएका थिएनन् । बराक ओबामाको कार्यकालमा भने सर्वोच्च अदालतमा २ जना न्यायाधिस नोमिनेट गरेका थिए, जसमा दुबैजना महिला थिए ।

सर्वोच्च अदालतमा रिपब्लिकन नियुक्त न्यायाधिस ६ जना पुगेमा कुनै पनि प्रगतिशिल मुद्दाका पक्षमा सर्वोच्चबाट निर्णय पाउन मुस्किल हुनेछ । जसका कारण अमेरिका कैयन बर्षसम्म रुढीवादमा जकडिन सक्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com