सर्वोच्चमा ९ मध्ये रिपब्लिकन नियुक्त न्यायाधिस ६ पुग्ने सम्भावना, के छ राजनीतिक अर्थ?


प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार

अमेरिकाको सर्वोच्च अदालतकी न्यायाधिस रुथ बेडर गेन्सबर्गको निधनपछि उनको स्थानमा नियुक्तिका लागि प्रस्ताव गरिने न्यायाधिसका पक्षमा सिनेटमा मतदान गरिने सिनेटका रिपब्लिकन नेता मिच म्याक्कोनेलले बताएका छन् । चुनाव अगाडि नै नयाँ न्यायाधिस नियुक्त गरिएको खण्डमा अमेरिकाको सर्वोच्च अदालतमा ६ जना रिपब्लिकनले नियुक्त गरेका न्यायाधिस र ३ जना डेमोक्र्याट्सले नियुक्त गरेका न्यायाधिसहरु हुनेछन् ।

सर्वोच्च अदालतमा ६ जना कन्जरभेटिभ न्यायाधिस हुँदा अमेरिकाको राजनीतिक परिदृश्यमा ठूलो असर पर्नसक्ने सम्भावना रहन्छ । गेन्सबर्गको निधन अगाडि सर्वोच्च अदालतमा ५ जना रिपब्लिकन नियुक्त र ४ जना डेमाक्र्याट्स नियुक्त न्यायाधिसहरु रहेका थिए । ५ जना कन्जरभेटिभ र ४ जना लिबरल न्यायाधिस हुँदा प्राय राष्ट्रिय मुद्दामा रिपब्लिकनका पक्षमा निर्णय हुँदै आएको थियो ।

नोभेम्बरको चुनाव अगाडि नै रिपब्लिकनले नयाँ न्यायाधिस नियुक्त गर्न सफल भएमा यसको असर अमेरिकी राजनीतिमा आगामी कैयन बर्षसम्म पर्नेछ । अमेरिकाको सर्वोच्च अदालतका न्यायाधिस नियुक्त गर्दा राष्ट्रपतिले नोमिनेशन गर्ने र सिनेटमा मतदान हुने प्रावधान रहेको छ । सिनेटमा साधारण बहुमतले पारित गरेमा मात्रपनि उक्त व्यक्तिलाई न्यायाधिस नियुक्त गरिन्छ ।

अहिलेको अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत रहेकाले राष्ट्रपतिले नोमिनेशन गरेको न्यायाधिसका पक्षमा मत जुटाउन रिपब्लिकनहरुलाई कुनै गाह्रो छैन । गेन्सबर्गको मृत्युको घोषणा भएको एकघण्टा पनि नबित्दै सिनेटमा रिपब्लिकन नेता म्याक्कोनेलले वक्तब्य जारी गरेर राष्ट्रपतिले नोमिनेट गरेको व्यक्तिलाई मतदान गरेर नियुक्तीको बाटो खोल्ने बताइसकेका छन् । यद्यपी कसलाई नियुक्त गर्ने भन्नेबारे अहिलेसम्म केही स्पष्ट छैन ।

राष्ट्रपति ट्रम्पले आफ्ना पक्षका न्यायाधिसलाई नियुक्त गर्न यथाशीघ्र कदम चाल्ने अनुमान गरिएको छ । तर ट्रम्पले शुक्रबार यसबारे केही बताएका छैनन् । उनले केबल स्वर्गीय गेन्सबर्ग असल महिला भएको मात्र प्रतिकृया दिएका छन् । राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले भने चुनाव हुन ४६ दिनमात्र बाँकी रहेको अवस्थामा चुनाव अगाडि सिनेटबाट न्यायाधिसको नाम पारित गर्न नहुने बताएका छन् ।

सन् २०१६ मा न्यायाधिस एन्टोनिन स्कालियाको निधन फरबरीमा हुँदा तत्कालिन राष्ट्रपति बराक ओबामाले गाल्र्याण्डलाई नोमिनेट गरेका थिए । तर सिनेटले चुनाव अगाडि न्यायाधिसको नाममा मतदान गरेन । पछि डोनाल्ड ट्रम्प नियुक्त भइसकेपछि निल गोर्सचलाई नियुक्त गरेका थिए भने सिनेटले पनि उनको नाम पारित गरेको थियो ।

चुनाव हुन जम्मा ४६ दिन रहेको अवस्थामा नयाँ न्यायाधिसको नामबारे सिनेटमा मतदान हुन नहुने डेमोक्र्याट्सले बताएपनि ट्रम्प र रिपब्लिकनहरु यसमा सहमत हुने सम्भावना भने निकै कम छ । बिल क्लिन्टनले गेन्सबर्गलाई सन् १९९३ मा सर्वोच्च अदालतको न्यायाधिस नियुक्त गर्दा पनि झण्डै ७० दिन लागेका थियो ।

यसअगाडि सन् २०१८ मा रिटायर्ड भएका एन्थोनी केनेडीको स्थानमा पनि डोनाल्ड ट्रम्पले नै न्यायाधिस नियुक्त गरेका थिए । एन्थोनी केनेडीलाई रोनाल्ड रेगनले नियुक्त गरेपनि उनी सधै कन्जरभेटिकका पक्षमा भने उभिएका थिएनन् । बराक ओबामाको कार्यकालमा भने सर्वोच्च अदालतमा २ जना न्यायाधिस नोमिनेट गरेका थिए, जसमा दुबैजना महिला थिए ।

सर्वोच्च अदालतमा रिपब्लिकन नियुक्त न्यायाधिस ६ जना पुगेमा कुनै पनि प्रगतिशिल मुद्दाका पक्षमा सर्वोच्चबाट निर्णय पाउन मुस्किल हुनेछ । जसका कारण अमेरिका कैयन बर्षसम्म रुढीवादमा जकडिन सक्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com