माइक्रोसफ्टले टिकटक नकिन्ने भएपछि ओराकलसँग सहमति, ट्रम्पको डेडलाइन एकसाता बाँकी


प्रकाशित मिति : भाद्र २८, २०७७ आईतबार

अमेरिकन कम्पनीले नकिनेको खण्डमा टिकटकमाथि प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको डेडलाइन नजिकिदै गर्दा ओराकल र टिकटक व्यापारिक साझेदार हुने सहमति भएको छ । माइक्रोसफ्टले टिकटिक नकिन्ने बताएलगत्तै ओराकलसँग सहमति भएको समाचार बाहिर आएको हो । तर कस्तो खालको सहमति भन्नेबारे केही बताइएको छैन ।

अगस्तको पहिलो साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाइनिज एपहरु वीच्याट र टिकटकको अमेरिकामा लेनदेनमा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका थिए । ट्रम्पले टिकटक र वीच्याटका सन्दर्भमा छुट्टाछुट्टै कार्यकारी आदेश जारी गरेका थिए ।

अगस्त ६ को मितिले ४५ दिनपछि यस्तो प्रतिबन्धको कार्यान्वयन सुरु हुने बताइएको थियो । जसका लागि अब एकसातामात्र बाँकी रहेको छ । कार्यकारी आदेशले यी एप्लीकेशनहरुलाई अमेरिकामा कुनै पनि लेनदेन गर्नमा प्रतिबन्ध लगाउनेछ ।

अमेरिकामा १७५ मिलियन पटक टिकटकको एप्लीकेशन डाउनलोड गरिएको र टिकटकले प्रयोगकर्ताका डिभाइसबाट लोकेशन डाटा, इन्टरनेट र अन्य गतिविधिका सुचनाहरु लगायतका कैयन विवरण स्वत कपी गर्ने कार्यकारी आदेशमा उल्लेख छ । टीकटकले जस्तै वीच्याटले पनि प्रयोगकर्ताका डाटाहरु स्वत कपी गर्ने कार्यकारी आदेशमा जनाइएको छ ।

माइक्रोसफ्टले अगस्तको पहिलोसाता नै टिकटक किन्नेबारे पहल सुरु गरेको थियो । माइक्रोसफ्टले सेप्टेम्बर १५ भित्र किन्ने नकिन्ने विषय टुंगो लाग्ने बताएकोमा नकिन्ने घोषणा गरिसकेको छ ।

भारतमा टिकटक लगायतका कैयन एपहरुमा प्रतिबन्ध लागिसकेको छ । अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउनेबारे लामो समयदेखि विचार गर्दै आएको थियो । तर अहिले भने टिकटक र वीच्याटको लेनदेनमा प्रतिबन्ध लाग्नेगरी आदेश जारी गरिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com