बिमाको १० लाख डलर लिनलाई आफ्नै हात काट्ने युवतीलाई २ बर्ष जेल
प्रकाशित मिति : भाद्र २७, २०७७ शनिबार

पैसाका लागि मान्छेले अरुको ज्यान लिएको घटना त प्रसस्तै सुनिन्छ । तर स्लोभेनियाकी एक महिलाले विमा रकमका लागि आफ्नै हात काट्न समेत पछि परिनन् । उनलाई अदालतले आफ्नै हात काटेर पैसा कमाउन खोजेको ठहर गरेको छ ।
नियतवश आफ्नो हात काटेर बिमाको पैसा अवैध ढङ्गले कमाउन खोजेको अदालतको निष्कर्ष रहेको छ । २२ वर्षीया जुलिया आदलेसीचले पाँचवटा बिमा नीति खरिद गरेको अर्को बर्ष हात काटेकी थिइन् ।
दुर्घटनावश हात काटिएको भएमा उनले बिमावापत् दश लाख भन्दा धेरै अमेरिकी डलर पाउनसक्ने थिइन् । तर विमा रकमका लागि हात काटेको ठहर भएपछि उनलाई दुई वर्षको जेल सजाय सुनाइएको छ।
उक्त कार्यमा उनका ब्यायफ्रेण्डले सघाएको अदालतको निष्कर्ष छ । जसलाई तीन वर्षको जेल सजाय सुनाइएको छ।
सन् २०१९ मा नाडीभन्दा माथिको भाग काटिएको हालतमा ती महिलालाई अस्पतालमा लगिएको थियो । हात काटिएपछि काटिएको भाग जानाजान छाडेर उनलाई अस्पताल लगिएको थियो ।
तर अधिकारीहरूले समयमै उक्त भाग फेला पारेपछि अस्पतालले त्यसलाई जोडिदिएको थियो । घटनाको केही दिन अगाडि महिलाका ब्यायफ्रेण्डले इन्टरनेटमा कृत्रिम हातबारे जानकारी खोजी गरेको समेत पाइएको छ ।
घटना लगत्तै केही व्यक्तिलाई पक्राउ गरिएको थियो । त्यसपछिको छानविनमा घटना नियोजित भएको प्रमाणहरु प्राप्त भएका थिए ।
मुद्दाको अवधिभरि जुलिया आदलेसीचले जानाजान हात काटेको अस्वीकार गरेकी थिइन्।