न्युयोर्कमा कोरोना संक्रमण घट्ने क्रम जारी, अहिलेसम्मकै न्यून
प्रकाशित मिति : भाद्र १३, २०७७ शनिबार
न्युयोर्कमा कोरोना संक्रमण दर घट्ने क्रम जारी रहेको छ । शनिबारसम्मको अवस्था हेर्दा न्युयोर्कमा अस्पताल भर्ना हुने दर र बिरामीलाई अक्सिजन दिनुपर्ने दरमा मध्यमार्च यताकै कमी आएको छ ।
शुक्रबार अस्पतालमा भर्ना भएर उपचार गराइरहेकाहरु ४५८ जना रहेका छन् भने ४८ जनालाई अक्सिजन दिएर राखिएको छ । सातजना नयाँ बिरामीको मृत्यु भएको छ । अब न्युयोर्कमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ हजार ३ सय १९ पुगेको छ ।
कोरोना संक्रमितको संख्या निरन्तर घटेपनि न्युयोर्कबासीहरु निरन्तर सावधान हुनुपर्ने गभर्नर एन्ड्रयु कुमोले बताएका छन् । कुमोले न्युयोर्कबासीलाई मास्क लगाउन, सामाजिक दुरी कायम गर्न र हातधुने काम नछाड्न आब्हान गरेका छन् ।

न्युयोर्क सिटीमा रेष्टुरेण्ट र बारहरुले नियम उल्लंघन गर्ने क्रम भने निरन्तर जारी छ । न्युयोर्क सिटीमा शुक्रबार १० वटा उल्लंघनका घटनाहरु भएका थिए । कोरोना भाइरस सम्बन्धित नियम नमान्ने न्युयोर्क राज्यका थप ६ बारहरुको मदिरा लाइसेन्स खारेज गरिएको छ ।
सोमबारदेखि शुक्रबारसम्म ५ हजार ९ सय स्थानमा अधिकारीहरुले मापदण्ड पूरा भए नभएकोबारे जाँच गरेका थिए । जसमध्ये राज्यभर ३५ वटा उल्लंघनका घटनाहरु भेटिएका थिए । उल्लंघन गर्ने बिजनेशहरुलाई हरेक उल्लंघनका लागि १० हजार डलरसम्म जरिवानाको नियम रहेको छ ।
न्युयोर्कमा अहिलेसम्म कोरोना महामारी सम्बन्धित नियम उल्लंघन गर्ने १६८ बार र रेष्टुरेण्टहरको मदिरा लाइसेन्स खारेज गरिएको छ ।






