ट्रम्पकी दिदीले भनिन् – ‘मेरो भाई झुठो र धोकेबाज’
प्रकाशित मिति : भाद्र ८, २०७७ सोमबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी दिदी मारियन ट्रम्प ब्यारीले आफ्ना भाइ झुठो र धोकेबाज रहेको बताएकी छिन् । सार्वजनिक एउटा अडियोमा उनले डोनाल्ड ट्रम्पलाई झुठो, धोकेबाज सिद्धान्तहीन, नक्कली र निर्दयी बताएकी छिन् ।
राष्ट्रपतिकी भतिजी मेरी ट्रम्पले उक्त गोप्य रेकर्डिङ गरेको जनाइएको छ । भतिजी मेरी ट्रम्पको गत महिना प्रकाशित किताबमा पनि राष्ट्रपति ट्रम्पको चर्को आलोचना गरिएको छ। ट्रम्पले उक्त किताब प्रकाशनमा रोक लगाउने प्रयास गरेपनि सफल भएका थिएनन् ।
कुनै कानुनी समस्यामा फस्नबाट जोगिन आफूले सो रेकर्डिङ गरेको मेरी ट्रम्पले बताएकी छन्।
‘हे भगवान् उसको ट्वीट र झुट। यो नक्कलीपना र निर्दयीपना ।’ अडियोमा मारियनले भनेको सुनिन्छ।
राष्ट्रपति ट्रम्पले यी पछिल्ला घटनाक्रमबारे प्रतिक्रिया जनाएका छन्। ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा हरेक दिन कुनै नयाँ विषय आउने र त्यसको आफूहरुले वास्ता नगर्ने जनाइएको छ ।
गोप्य रेकर्डिङमा ब्यारीले ट्रम्प प्रशासनको आप्रवासीनीतिको आलोचना गरेकी छन् । उनले अध्यागमन जेलहरुमा बालबालिकाहरु थुनिएकोमा विरोध गरेकी छिन् । भतिजी मेरी ट्रम्पको किताबमा कसरी राष्ट्रपति ट्रम्पले साथीलाई पैसा दिएर आफ्नो साटो एसएटी परीक्षा मा बस्न लगाएका थिए भनेर उल्लेख छ।
ब्यारीले त्यसैप्रति इङ्गित गरेको श्रव्य सामग्रीमा सुनिन्छ। त्यसमा उनी ट्रम्पका ती साथीको नाम पनि याद भएको बताउँछिन्। ट्रम्पले अरु कसैलाई आफ्नो तर्फबाट परीक्षा दिन लगाएर पेन्सल्भेनीआ विश्वविद्यालयमा भर्ना हुन सकेको अडियोमा बताइएको छ । विगतमा भने ब्यारीले आफ्नो भाइप्रति समर्थन व्यक्त गरेकी थिइन् र निकटता देखाएकी थिइन्।
आफ्नो शल्यक्रिया हुँदा भाइले हरेक दिन अस्पतालमा भेट्न आएको उनले स्मरण गरेकी थिइन्।






