पुनरावेदनको रुलिङपछि क्यालिफोर्नियामा लिफ्ट र उबर तत्कालै बन्द नहुने


प्रकाशित मिति : भाद्र ४, २०७७ बिहीबार

यात्रुहरु बोक्ने सेवा प्रदान गर्ने एप्लीकेशन उबर र लिफ्टले अगस्त १० को अदालतको नियम कार्यान्वयनका लागि अतिरिक्त समय पाएका छन् । चालकहरुलाई कामदारका रुपमा सुचिकृत गर्नुपर्ने नियम कार्यान्वयन गर्न दिइएको १० दिनको अवधि आजसकिदै गर्दा उबर र लिफ्टका तर्फबाट दायर अपिलमा सुनुवाई गर्दै नियम कार्यान्वयनका लागि अतिरिक्त समय दिइएको हो ।

अब अगस्त १० को आदेश कार्यान्वयनका लागि दुबै कम्पनीका प्रमुखहरुले सेप्टेम्बर ४ सम्म सपथपत्र पेश गर्नुपर्नेछ । त्यस्तै राज्यको पुनरावेदन अदालतका न्यायाधिसले तयार पारेको रुपरेखा अनुशार दुबै कम्पनीहरुलाई तीब्र गतिको प्रकृयामा सहमत हुनका लागि ५ दिनको अवधि दिइएको छ ।

फस्र्ट डिस्ट्रिक्ट कोर्ट अफ अपिलका न्यायाधिसले मौखिक तर्कहरु सुन्नका लागि अक्टोबर १३ को मिति तय गरेका छन् । यसैबीच उबर र लिफ्टले आजैदेखि क्यालिफोर्नियामा सेवा बन्द गर्ने योजना स्थगित गरेका छन् ।

यसअगाडि लिफ्टले आजैदेखि क्यालिफोर्नियामा सेवा बन्द गर्ने निर्णय गरेको थियो । लिफ्टले स्थानीय समय आज राती ११ बजेर ५९ मिनेट जाँदादेखि क्यालिफोर्नियाभर सेवा बन्द गर्ने जनाएको थियो ।

गत अगस्त १० मा सान फ्रान्सिस्को सुपेरियर कोर्टका न्यायाधिसले एप्लीकेशनमार्फत यात्रु बोक्ने कम्पनीहरुले आफ्ना चालकहरुलाई कामदारका रुपमा सुचिकृत गर्नुपर्ने फैसला गरेका थिए ।

उबर र लिफ्टले आफ्ना चालकहरुलाई अहिले स्वतन्त्र ठेकेदारहरुका रुपमा सुचिकृत गर्दै आएका छन् । स्वतन्त्र ठेकेदारका रुपमा स्वीकृत गर्दा चालकहरुलाई अहिले न्यूनतम ज्याला, स्वास्थ्यविमा, तलबी विरामी विदा लगायतका सुविधा दिन पर्दैन ।

यसैबीच लिफ्टको शेयर आज ५ दशमलव ७६ प्रतिशत बढेर २९ डलर ७६ सेन्टस् पुगेको छ । पुनरावेदनको रुलिंग अगाडि लिफ्टको शेयर २५ डलर ८७ सेन्ट्समा झरेको थियो । उबरको शेयर आज ६ दशमलव ७६ प्रतिशतले बढेर ३१ डलर ४१ सेन्ट्स पुगेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com