अमेरिकाको मेनमा विवाह समारोहमा सहभागी १८ मा कोरोना संक्रमण


प्रकाशित मिति : भाद्र २, २०७७ मंगलबार

अमेरिकाको मेन राज्यको मिलिनोकेटमा एउटा विवाह समारोहमा सहभागी १८ जनामा कोरोना संक्रमण भएको छ । उनीहरुसँग सम्पर्कमा आएका अरु ६ जना पनि संक्रमित भएका छन् ।

गत अगस्त ७ मा भएको एउटा विवाह समारोहमा उनीहरु सहभागी भएको जनाइएको छ । समारोहमा ६५ जना सहभागी भएका थिए । स्वास्थ्य विभागले सम्पर्कमा आएकाहरुका बारेमा जाँच गरिरहेको छ ।

मेनको सरकारले कार्यकारी आदेशमार्फत घरभित्र ५० जनाभन्दा धेरै जम्मा हुनमा रोक लगाएको छ । त्यस्तै घरबाहिर एकसयजनाभन्दा धेरै भेला हुनमा रोक लगाइएको छ । ठाउँ सानो भएको खण्डमा प्रत्येक एकहजार फिटमा ५ जनाभन्दा धेरै जम्मा नहुन भनिएको छ ।

कोरोनाको महामारीका कारण कैयन विवाह समारोहहरु स्थगित भइरहेका छन् । कतिपयले तत्कालका लागि विवाहका योजनाहरु परिवर्तन गरेका छन् ।

मेनराज्यमा अहिलेसम्म झण्डै ४२ सयमा कोरोना संक्रमण पुष्टी भएको छ । १२७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com