माउन्ट रशमोरमा जर्ज वासिंटन र अब्राहम लिंकनसँगै आफ्नो प्रतिमा राख्न ट्रम्पको पहल


प्रकाशित मिति : श्रावण २५, २०७७ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउथ डाकोटाको माउन्ट रशमोरमा आफ्नो समेत प्रतिमा राख्न पहल गरिरहेको दावी न्युयोर्क टाइम्सले गरेको छ । माउन्ट रशमोरमा अमेरिकी राष्ट्रपतिहरु जर्ज वासिंटन, थोमस जेफर्सन, थियोडोर रुजभेल्टको प्रतिमा राखिएको छ ।

न्युयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा गतबर्ष ह्वाइटहाउसले ट्रम्पको पनि प्रतिमा राख्नेबारे साउथ डाकोटाका गभर्नरलाई सम्पर्क गरेको जनाइएको छ । तर आइतबार राती ट्रम्पले आफ्नो प्रतिमा राख्नेबारे साउथ डाकोटाका गभर्नरलाई आफूहरुले सम्पर्क नगरेको बताएका छन् ।

ह्वाइट हाउसले भने माउन्ट रशमोर राज्यको नभई संघीय प्रतिमा रहेको बताएको छ । यद्यपी रिपोर्टमा भने त्यहाँ ट्रम्पको समेत अनुहार राख्नेगरी त्यसको प्रकृयाबारे ह्वाइटहाउसका तर्फबाट गभर्नरलाई सम्पर्क गरिने उल्लेख छ ।

न्युयोर्क टाइम्समा प्रकाशित यो रिपोर्ट आइतबार अमेरिकामा मुलधारका विभिन्न संचारमाध्यमहरुले पनि प्राथमिकताका साथ प्रकाशित गरेका थिए । ट्रम्पले सीएनएनको समाचार ट्वीट गर्दै समाचार गलत भएको तर आफूलाई राम्रो आईडीया मिलेको बताएका छन् ।

साउथ डाकोटाका रिपब्लिकन गभर्नर क्रिस्टी नोमले भने ट्रम्पले माउन्ट रशमोरमा आफ्नो समेत प्रतिमा राख्ने इच्छा आफूसमक्ष व्यक्त गरेको बताएकी थिइन् । नोमले साउथ डाकोटा भ्रमणका लागि ट्रम्पलाई निम्ता दिंदा ट्रम्पले माउन्ट रुशमोरमा आफ्नो अनुहार समेत राख्ने आफ्नो सपना भएको बताएका थिए ।

यसैबीच ट्रम्पले माउन्ट रशमोर अगाडि उभिएको देखिने मिडियामा आज प्रकाशित एउटा तस्वीर ट्वीट गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com