कोरोना महामारीमा गैरकानुनी पिरामिड धन्दा बढ्दो, सहभागी नहुन सरकारी निकायको चेतावनी


प्रकाशित मिति : श्रावण २३, २०७७ शुक्रबार

कोरोनाको महामारीका बेलामा गैरकानुनी पिरामिड धन्दा बढेपछि अमेरिकी सरकारका विभिन्न निकायहरुले यस्तो धन्दामा सहभागी नहुन चेतावनीहरु जारी गरेका छन् । पैसा कमाउने प्रलोभनमा सुरुमा केही रकम लगानी गरेर आफ्ना पछाडि अरु व्यक्तिहरु थप्दै जाने धन्दा बढ्दै गएको हो ।

बेटर विजनेश ब्यूरो, फेडरल ट्रेड कमिसन र अन्य राज्यका एटोर्नी जनरलहरुले पनि यस्तो धन्दामा सहभागी नहुन चेतावनीहरु जारी गरेका छन् । अमेरिकाको मेरिल्याण्डमा यस्तो धन्दामा सहभागी हुने, स्थापना गर्ने र प्रचार गर्नेहरुलाई एकबर्षसम्म जेल सजाय र १० हजार डलरसम्म जरिवाना वा दुबै सजायको व्यवस्था रहेको छ । यस्ता धन्दामा लाग्नेलाई ट्याक्स फ्रडको समेत अभियोग लाग्ने जनाइएको छ ।

केहीबर्ष पहिले अमेरिकाको कनेक्टिकमा यस्तो पिरामिड धन्दा चलाउने दुईमहिलालाई ४८ महिनाको जेल सजाय सुनाइएको थियो । यदि कसैले यस्तो धन्दा गरेको पाइएमा आफ्नो राज्यको एटोर्नी जनरललाई वा फेडरल ट्रेड कमिशनमा रिपोर्ट गर्न सुझाव दिइएको छ ।

आफूलाई सुरुमा ५ सय डलर लगाउन भनिएको र अरु दुई जना सोही रकम लगाउने व्यक्ति खोजेपछि केही हप्तामा ४ हजार डलर प्राप्त हुने भन्दै आफूलाई पिरामिड धन्दामा लगाउन खोजिएको एलिजा ब्रिस्कोले अनुभव सुनाएकी छिन् । साउसाउ नामको उक्त पिरामिड स्टाइलको धन्दामा एकजनाले दुईजनालाई आवद्ध गरेपछि ती दुईजनाले अरु दुईदुईजना गर्दै आवद्ध गर्नुपर्ने नियम रहेको छ ।

सुसु, ब्लेसिङ लुम, गिफ्टिङ सर्कल, क्राउड वान जस्ता कैयन पिरामिड स्टाइलका धन्दाहरु संचालनमा रहेका छन् । सुसुका प्रवद्र्धकहरुले अमेरिकामा रहेका क्यारेबीयन र अफ्रिकन आप्रवासीहरुमाझ धन्दा बढाउन खोजिरहेका छन् । उनीहरुको व्यवसाय बढाउन मद्दत गर्ने प्रलोभन समेत दिइने गरेको छ ।

यी सबै पिरामिड स्टाइलका धन्दाहरु गैरकानुनी रहेका छन् । यो धन्दा अन्तरगत सुरुका व्यक्तिले अर्को व्यक्तिलाई आवद्ध गर्दै लैजाने र अन्त्यमा यो धन्दा नै समाप्त हुने र अन्तिममा लगानी गर्ने ठूलो संख्याका व्यक्तिले रकम गुमाउने गर्छन् ।

मेरिल्याण्डका महान्याधिवक्ता ब्रायन फ्रोसले यस्ता गतिविधिमा संलग्न नहुन भनेका छन् । यस्तो धन्दामा संलग्न हुनुपनि अपराध रहेको उनले स्पष्ट पारेका छन् । यस्तो धन्दामा आफ्ना साथीहरु र परिवारका सदस्यहरुलाई आवद्ध गरेर जोखिममा नराख्न समेत उनले आग्रह गरेका छन् ।

यो धन्दामा केही व्यक्तिले रकम कमाउन सफल हुने भएपनि अधिकांश भने पीडित हुने महान्याधिवक्ता फ्रोसको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com