टिकटक किन्न खोज्दै अमेरिकन कम्पनी माइक्रोसफ्ट, सेप्टेम्बर १५ सम्म टुंगो लाग्ने


प्रकाशित मिति : श्रावण १८, २०७७ आईतबार

अमेरिकन बहुराष्ट्रिय टेक कम्पनीले माइक्रोसफ्टले टिकटक किन्नेबारे विचार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथिको प्रतिबन्ध तत्कालका लागि स्थगित गरेका छन् । माइक्रोसफ्टका सीईओ सत्य नारायण नादेला र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच यसबारेमा कुराकानी भएको छ ।

माइक्रोसफ्टले टिकटक किन्नेबारे छलफललाई निरन्तरता दिने बताएको छ । यसअगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार नै टिकटकमाथि प्रतिबन्ध लगाउने बताएका थिए । त्यस्तै अमेरिकी विदेशमन्त्री माइक पम्पिओले पनि टिकटक लगायतका चाइनिज एपमाथि प्रतिबन्ध लगाउने बताउँदै आएका थिए ।

टिकटक किन्नेबारे माइक्रोसफ्टको ब्लग पढ्नुहोस्

माइक्रोसफ्टले आइतबार गरेको एउटा ब्लग पोष्टमा टिकटिक किन्नका लागि यसको संचालन गर्ने कम्पनी बाइटडान्ससँग छलफलका लागि छिटो अगाडि बढ्ने बताएको छ । सबै छलफलहरु आगामी सेप्टेम्बर १५ अगाडि नै टुंगो लगाउने माइक्रोसफट्ले जनाएको छ ।

भारतले यस अगाडि नै टिकटकमाथि प्रतिबन्ध लगाइसकेको छ भने अन्य कैयन देशले साइबर सुरक्षाको कारण देखाउँदै टिकटिकमाथि प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेका छन् । टिकटकका झण्डै १० प्रतिशत प्रयोगकर्ताहरु अमेरिकामा रहेका छन् भने झण्डै २० प्रतिशत आम्दानी अमेरिकाबाट हुने गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com