भोलिदेखि अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा


प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्ममा टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भोलि बेलुकासम्म टिकटकमाथि प्रतिबन्धको घोषणा गर्ने बताए ।

उनले कार्यकारी आदेशमार्फत टिकटकमाथि प्रतिबन्ध लगाउने वा फरक तरिकाबाट लगाउने भन्नेबारे केही बताएका छैनन् । तर उनले शनिबारदेखि अमेरिकाभर लागु हुनेगरी टिकटकमा प्रतिबन्ध लगाउने बताएका हुन् ।

टिकटक अहिलेसम्म झण्डै २ बिलियन पटक डाउनलोड भइसकेको छ । त्यसमध्ये भारतमा ५ सय मिलियन भन्दा धेरैपटक डाउनलोड भएको थियो अमेरिकामा १३० मिलियन भन्दा धेरैपटक डाउनलोड भएको छ । टिकटकको झण्डै २० प्रतिशत आम्दानी अमेरिकाबाट हुँदै आएको छ ।

अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटक किन्नेबारे छलफल सुरु गरेलगत्तै ट्रम्पको भनाई आएको हो । टिकटकमाथि भारतले प्रतिबन्ध लगाइसकेको छ भने अमेरिकामा पनि टिकटकमा उल्लेख्य प्रयोगकर्ताहरु रहेका छन् ।

चाइनिज कम्पनी बाइटडान्सले सन् २०१७ मा टिकटकको सुरुवात गरेको थियो । त्यसपछि टिकटकका प्रयोगकर्ताहरु ह्वात्तै बढेका थिए । कोरोनाको महामारीमा टिकटकको लोकप्रियता अझ बढेको थियो ।

राष्ट्रिय सुरक्षाको विषयलाई लिएर अमेरिकाले केही समयदेखि टिकटकमा प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको छ । अमेरिकाले टिकटक लगायतका अन्य चाइनिज एपमाथिपनि प्रतिबन्ध लगाउने बताउँदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com