अमेरिकी राष्ट्रपतिका पूर्व उम्मेदवारको कोरोना संक्रमणबाट निधन


प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार

अमेरिकी राष्ट्रपतिका पूर्व उम्मेदवार हर्मन केनको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमणपछि अस्पतालमा भर्ना भएका केनको ७४ बर्षको उमेरमा निधन भएको हो ।

हर्मन केन अमेरिकामा कोरोनाको संक्रमणबाट ज्यान गुमाउने हाइप्रोफाइल पब्लिक फिगरमध्येका एक हुन् । उपचार सुरु हुनुभन्दा २ साता अगाडि उनी ओक्लोहोमामा ट्रम्पको चुनावी र्यालीमा सहभागी भएका थिए ।

चौथो चरणको क्यान्सरबाट बचेका केनले चुनावी र्यालीको एउटा तस्वीर समेत सार्वजनिक गरेका थिए । जसमा कसैले पनि मास्क लगाएका थिएनन् भने सामाजिक दुरीको मापदण्ड पनि पालना गरेका थिएनन् ।

ट्रम्पको अभियानले उक्त र्यालीमा सहभागी हुने सबैको तापक्रम मापन गरिएको बताएको थियो । ह्याण्ड सेनिटाइजर र मास्क पनि वितरण गरिएको थियो तर प्रयोग गर्न अनिवार्य भने गरिएको थिएन ।

हर्मन केनले सन् २००० को राष्ट्रपतिको चुनावमा रिपब्लिकन प्राइमरीमा उम्मेदवारी दिएका थिए । तर पछि उनले उम्मेदवारी फिर्ता लिएका थिए । उनले सन् २०१२ मा पनि राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेका थिए ।
गतबर्ष ट्रम्पले उनलाई फेडरल रिजर्भ बोर्डमा ल्याउन खोजेका थिए । तर केन आफैले उक्त बोर्डमा नबस्ने भन्दै बाहिरैबाट ट्रम्पको समर्थन गर्दै आएका थिए ।

ट्रम्पको चुनावी र्याली लगत्तै केनमा कोरोना संक्रमण देखिएका थियो भने जुलाई १ मा उनी अस्पतालमा भर्ना भएका थिए । सुरुमा उनलाई अस्पतालमा भेन्टिलेटर वा अक्सिजनको पनि आवश्यकता परेको थिएन । तर पछि उनलाई अक्सिजन दिनुपरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com