रिपब्लिकन प्याकेज : दोश्रो चरणमा १२ सय र बेरोजगारलाई अतिरिक्त साप्ताहिक २ सयसम्म


प्रकाशित मिति : श्रावण १२, २०७७ सोमबार

अधिकांश अमेरिकन, ग्रिनकार्डवाहक र करदाताहरुलाई दोश्रो चरणमा १२ सय डलर राहत चेक दिने र काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक २ सय डलरसम्म दिने प्रस्तावसहित रिपब्लिकन बिल आज सार्वजनिक हुने भएको छ । काम गुमाएकाहरुले अतिरिक्त साप्ताहिक ६ सय प्राप्त गरेकोमा अब साप्ताहिक २ सयसम्म दिने रिपब्लिकन प्रस्ताव रहेको छ ।

काम गुमाएकाहरुलाई दिइदै आएको साप्ताहिक ६ सय डलरको म्याद यसैसाता समाप्त भएको छ । राहत प्याकेज लगभग १ ट्रिलियन डलरको हुने रिपब्लिकन सिनेटरहरुले तय गरेका छन् । जसमध्ये १०५ बिलियन विद्यालयहरुलाई र १६ बिलियन कोरोना परीक्षणका लागि तय भएको छ ।

काम गुमाएकाहरुलाई उनीहरुको विगतको आम्दानीको ७० प्रतिशतसम्म ज्याला कभर गर्नेगरी अतिरिक्त २ सय डलरसम्म प्रदान गर्ने रिपब्लिकन प्रस्तावमा उल्लेख छ । त्यस्तै विजनेशहरुलाई दोश्रो चरणमा पेचेक प्रोटेक्सन प्रोगाम अन्तरगतको मिनाहा हुनसक्ने ऋण प्रदान गर्ने प्याकेजमा समावेश छ ।

२६ बिलियन डलर कोरोनाको भ्याक्सिनको शोध र विकाशमा तथा साढे १५ बिलियन राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानका लागि प्रदान गर्ने प्याकेजमा समावेश गरिएको छ । प्याकेजमा ट्याक्स रिटेन्सन, विजनेश मिल डिडक्सन लगायतका विषयहरु पनि समावेश गरिएको छ ।

यो प्याकेजमा आम चासाको विषय बेरोजगारी विमाको अतिरिक्त साप्ताहिक रकम समेत रहेको छ । डेमोक्रेटिक सांसदहरु यो रकम आगामी जनवरीसम्मका लागि साप्ताहिक ६ सय डलरका दरले बढाउने पक्षमा छन् । तर रिपब्लिकनहरु कामदारले काम गुमाउनु अगाडि पाएको ज्यालाभन्दा बढी नहुनेगरी रकम दिनुपर्ने पक्षमा छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com