१२ सय डलर दिने तर साप्ताहिक ६ सय नदिने रिपब्लिकन बिल सोमबार आउने


प्रकाशित मिति : श्रावण ११, २०७७ आईतबार

ह्वाइट हाउसका अधिकारीहरु र सिनेटका रिपब्लिकन सांसदहरु आगामी राहत बिललाई अन्तिम रुप दिनमा लागिरहेका छन् । उक्त बिलमा अधिकांश अमेरिकनहरु, ग्रिनकार्डवाहक र करदाताहरुले दोश्रो चरणमा १२ सय डलरको चेक प्राप्त गर्ने व्यवस्था गरिने भएको छ तर बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता पाइरहेकाहरुलाई अतिरिक्त साप्ताहिक ६ सय डलर भने नविकरण नगरिने भएको छ ।

उक्त बिल सोमबार सार्वजनिक हुने अपेक्षा गरिएको छ । ह्वाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी कुड्लोका अनुशार राहत प्याकेजमा दोश्रो चरणको १२ सय डलरको चेक समावेश गरिने भएको छ । त्यस्तै पुन काममा फर्कर्नेहरुलाई बोनस दिने, रिटेन्सन बोनस र साना विजनेश तथा रेष्टुरेण्टहरुलाई ट्याक्स क्रेडिटलाई पनि प्याकेजमा समावेश गरिने भएको छ ।

ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनले पनि बिल सोमबार सार्वजनिक हुने र आफूहरु प्याकेजका सन्दर्भमा छिटो छिटो अगाडि बढ्न चाहेको बताएका छन् । आफूहरुले साना विजनेश र रेष्टुरेण्टहरुबाट कर्मचारीहरु पुन काममा फर्काउन नसकेको धेरै गुनासो प्राप्त गरिरहेको उनले बताएका छन् ।

सांसदहरु बेरोजगारी विमाको अतिरिक्त साप्ताहिक ६ सय डलरको म्याद बढाउने वा नबढाउने सन्दर्भमा विभाजित देखिएका छन् । डेमोक्र्याट्सहरुले अर्थतन्त्र अझै कमजोर अवस्थामा नै रहेकाले यो म्याद अर्को बर्षसम्म बढाउनुपर्ने बताएका छन् । बेरोजगारहरुले पनि आफूहरुले काम पाउन मुस्किल भइरहेको बताएका छन् ।

रिपब्लिकनहरु भने उक्त अतिरिक्त रकम दिंदा आर्थिक रिकभरी ढिलो हुने र काम गुमाएकाहरु काममा फर्कन अनिच्छुक हुने बताएका छन् । नयाँ राहत प्याकेजमा अगस्त ५ भन्दा अगाडि नै सहमति कायम गर्ने गरी काम हुने रिपब्लिकन सिनेटर लिन्ड्से ग्राहमले बताएका छन् ।

रिपब्लिकनहरुले अतिरिक्त बेरोजगारी रकम कामदारले गुमाएको ज्यालाको हिस्सामात्र दिनुपर्ने पक्षमा छन् । तर हाउस स्पीकर न्यान्सी पेलोसीले अतिरिक्त साप्ताहिक रकम सबैका लागि समान र एकमुष्ठ रुपमा दिनुपर्ने बताएकी छिन् । पेलोसीले साप्ताहिक ६ सयभन्दा कम रकम दिने प्रस्ताव आफूहरुले स्वीकार्ने वा नस्वीकार्नेबारे केही बताइनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com