केन्टकी रितिका गुरुङले आफैंले सिलाएर बांडिन् ३ हजार मास्क


प्रकाशित मिति : श्रावण ११, २०७७ आईतबार

महामारीका बेला बेलायतमा हजारौं फेस मास्क सिएर स्वयमसेवी रुपमा वितरण गर्ने एक नेपाली फेसन डिजाइनरले सर्वत्र प्रशंसा बटुलेकी छन् । लकडाउनका कारण आफ्नो नियमित व्यवसाय अवरुद्ध हुंदा मिलेको समय उनले स्थानीय समुदायको सहयोगका लागि सदुपयोग गरेकी हुन् ।

केन्टको डोभर बस्दै आएकी रितिका गुरुङले स्थानीय स्वास्थ्यकर्मी र सर्वसाधारणका लागि ३ हजार मास्क सहयोग गरेको केन्ट अनलाइनले उल्लेख गरेको छ ।

‘मास्कहरुको शर्टेज् भएको थाहा पाउनेबित्तिकै मेरो दिमागमा मास्क सिउने विचार आयो’, ५ वर्षअघि हङकङबाट बेलायत आएकी रितिकाले भनेकी छन्, ‘भर्खर म बेलायत आउंदै गर्दा यहाँको समुदायबाट न्यानो स्वागत र माया पाएकी थिएँ । आज अफ्टेरो परेको बेला यहि समुदायको सहयोगमा केही गरौं भन्ने मेरो चाहना हो ।’

आफूले तयार गरेका मास्कहरु स्थानीय जीपी सर्जरी र अस्पतालका स्वास्थ्यकर्मीदेखि शिक्षक, ड्राइभर एवम् विभिन्न च्यारिटी संस्था र अत्यावश्यक सेवामा कार्यरत रहनेहरुलाई प्रदान गरिएको उनले बताइन् ।

रितिकाको स्वयम्सेवी कार्यको प्रशंसा गर्दै सयौं जनाले उनलाई धन्यवाद सन्देश पठाएका छन् ।

भूपू गोर्खा सैनिककी छोरी रितिका हङकङमा जन्मिएकी हुन् । सफल फेसन डिजाइनर बन्ने आफ्नो सपना पछ्याउंदै लन्डनसम्म आइपुगेको उनी बताउंछिन् ।

डोभरको स्थानीय बेलायती समुदायसंग नजिक रहेर काम गर्दै आएकी उनी ‘डोभर टुगेदर ग्रुप’ मा सदस्य पनि छन् । डोभरमा वर्षेनी आयोजना हुने मल्टिकल्चरल फेस्टिभलमा समेत उनका डिजाइनहरु विशेष आकर्षण बन्दै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com