उत्तर कोरियामा पहिलो सम्भावित कोरोना संक्रमित फेला, अपनाइयो उच्च सतर्कता


प्रकाशित मिति : श्रावण ११, २०७७ आईतबार

उत्तर कोरियामा नोभेल कोरोना भाइरसको पहिलो शंकास्पद घटनापछि त्यहाँ उच्च सतर्कता अपनाइएको छ । उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार तीन वर्षअघि दक्षिण कोरिया भागेर पुगेका एक व्यक्ति दुई देशलाई छुट्याउने रेखावारि देखा परेका थिए  । र, उनमा कोरोना भाइरसको लक्षण देखिएका थिए ।

उत्तर कोरियाली नेता किम जोङ उनले शीर्ष अधिकारीहरूसँगको एउटा आपत्‌कालीन बैठकबाट उक्त सीमावर्ती सहर केसङमा लकडाउन जारी गर्ने निर्णय गरेका छन् ।  यसअघि उत्तर कोरियामा कोरोना भाइरसको शून्य संक्रमण भएको दाबी गरिएको थियो । तर विश्लेषकहरुले भने उत्तर कोरियामा यसअघि नै कोरोना संक्रमित भेटिएको बताउँदै उत्तर कोरियाली दाबीलाई खारेज गरेका थिए ।  रू त्यस्तो सम्भव नहुने बताउँछन्।

“केसङ सहरमा आपत्‌कालीन रूपमा एउटा घटना भएको थियो । जहाँ तीन वर्षअघि गैरकानुनी रूपमा सीमा छुट्याउने रेखा काटेर दक्षिण कोरिया पुगेका एक व्यक्ति १९ जुलाईमा फर्किएका थिए,” केसीएनएले भनेको छ ।” शनिबारको पोलिटब्यूरो बैठकमा नेता किमले भाइरसलाई परास्त पार्न ‘उच्चतम आपत्‌कालीन प्रणाली’ लागु गर्न आदेश दिएका थिए ।  केसीएनएका अनुसार किमले ती व्यक्तिबारे अनुसन्धान समेत सुरु गरेका छन् ।

अनुसन्धानका क्रममा निकै कडा सुरक्षा र निगरानी हुने उक्त क्षेत्रमा कसरी ती व्यक्ति फर्किन सफल भए भन्‍ने खोजिने बताइएको छ । र, त्यसमा जिम्मेवार व्यक्तिहरूलाई ‘निकै कडा सजाय’ दिइने चेतावनी दिइएको छ । त्यति नै बेला दक्षिण कोरियाले असैनिकृत सीमा क्षेत्रमा हालै गैरकानुनी रूपमा कुनै आउजाउ भएको नदेखिएको जनाएको छ ।

विश्वभर कोरोना महामारीले तहसनहस गरिरहँदा उत्तर कोरियाले आफ्नो सीमाना बन्द गर्दै हजारौं मानिसहरूलाई ६ महिनासम्म आइसोलेसनमा राखेको थियो । जुलाईको सुरुआतमा नेता कमिले कोरोनाविरुद्ध लड्ने मामिलामा आफ्नो मुलुकले ‘प्रशंसायोग्य सफलता’ हासिल गरेको दाबी गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com