अमेरिकामा चाइनिज कन्सुलेटका अधिकारीलाई जासुसीको अभियोगमा मुद्दा, फरार शोधकर्ता पक्राउ


प्रकाशित मिति : श्रावण ९, २०७७ शुक्रबार

अमेरिकाले क्यालिफोर्नियाको चाइनिज कन्सुलेटमा लुकाएको राखेको दावी गरेका र फरार रहेका चाइनिज सेनासँग सम्बन्धित एकजना महिलालाई आज पक्राउ गरेको छ । ताङ हुवान नामकी ती महिलालाई भिसा फ्रड लगायतका अभियोगहरु लगाइएको छ ।

ती महिलाले अमेरिकी सरकारलाई ढाँटेर भिसा लिएको एफबीआईको दावी छ । चाइनिज सेनासँग सम्बन्धित भएपनि नभएको विवरण पेश गरेर भिसा लिएको एफबीआईएले अदालतमा पेश गरेका कागजातमा जनाइएको छ ।

अमेरिकी विजनेश, विश्वविद्यालयहरु र शोधकेन्द्रबाट बौद्धिक सम्पत्ति चोरीका लागि बेइजिङले अमेरिकामा रहेका आफ्ना कुटनीतिक नियोगहरुलाई जासुसीका अखडाका रुपमा संचालन गरेको अभियोग समेत लगाएर ताङ हुवानलाई हिराशतमा राखिएको छ । ताङ हुवानलाई व्यक्तिगत रुपमा जासुसीको अभियोग लगाइएको छैन, भिसामा जालसाजीको अभियोगमात्र लगाइएको छ ।

अमेरिकाले ह्युस्टनमा रहेको चाइनिज कन्सुलेट बन्द गर्न दिएको निर्देशनको डेडलाइन सकिनै लाग्दा ताङ हुवानलाई पक्राउ गरिसकेको घोषणा गरेको हो । चीनले पनि छङतुमा रहेको अमेरिकी कन्सुलेट बन्द गर्न निर्देशन दिइसकेको छ ।

ताङ हुवानले अमेरिका आउनका लागि चाइनिज सेनासँग भएको सम्बन्ध लुकाएको एफबीआईको निचोड छ । गत जुन २० मा एफबीआई एजेन्टसँगको अन्तरवार्तामा चाइनिज सेनासँगको सम्बन्ध अस्वीकार गर्दै आफूले चीनको विश्वविद्यालयमा जानका लागिमात्र सैन्य पोशाक लगाएको बयान दिएकी थिइन् ।

तर उनको घरमा र विद्युतीय मिडियामा खानतलासी लिंदा उनी चाइनिज सेनाको कर्मचारी रहेको खुलासा भएको थियो । उनी फोर्थ मिल्ट्री मेडिकल युनिभर्सिटीमा चाइनिज सेनाको कर्मचारीका रुपमा कार्यरत रहेको जनाइएको छ ।

अमेरिकी अधिकारीहरुले ह्युस्टनमा रहेको कन्सुलेटमा रहेका अधिकारीहरुले अमेरिकाका विजनेश, विश्वविद्यालयहरु र शोधकेन्द्रबाट बौद्धिक सम्पत्ति चोरीका लागि आफ्ना शोधकर्ताहरुलाई गाइड गरेको र उक्त कार्यमा प्रत्यक्ष संलग्न भएको अभियोग समेत लगाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com