कोरोना जित्ने बेलायतका नेपाली खोप विकासले उत्साहित


प्रकाशित मिति : श्रावण ९, २०७७ शुक्रबार

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण डार्टफोर्ड नेपाली समाज बेलायतका अध्यक्ष गजेन कटुवाल अप्रिल पहिलो साता नराम्ररी थलिए । दिनमा तीनपटक औषधि खाने मधुमेहका रोगी उनी ज्वरो र अत्यधिक खोकी लागेपछि झन्डै ‘कोल्याप्स’ हुने अवस्थामा एम्बुलेन्स बोलाएर नजिकै डारेन भ्याली अस्पताल भर्ना हुनुपर्‍यो ।

‘अक्सिजन लेभल कम भएर श्वासप्रश्वासमा अप्ठेरो पर्‍यो । फोक्सोमा पनि संक्रमण भएछ,’ आफ्नो विगतबारे उनी भन्छन् ।

आफूसँगैको बिरामी कोरोनाका कारण मृत्यु भएको देखेपछि उनले पनि बाँचिएला भन्ने आशा मारिसकेका थिए । ‘अहिले बोनसको दोस्रो जीवन बिताइरहेका बेला फेरि बेलायतमा खोप विकासमा प्रगतिले खुसी बनाएको छ,’ उनले सुनाए ।

कोभिड–१९ ले थला परेका आफ्नी श्रीमती र छोरासमेत अहिले सामान्य जीवनमा फर्किसकेका उनले बताए ।

यो नयाँ भाइरस भएको र औषधि आइनसकेकाले आत्मविश्वास र सतर्कताबाट नै जोगिने उपाय रहेको उनी बताउँछन् ।

विश्वभर लाखौंको ज्यान लिइरहेको कोरोनालाई एक सातामा जित्न सफल भएपछि त्यसलाई जीवनकै उपलब्धि मान्छन् लन्डनका एक जना सफल व्यवसायी राजन कँडेल । ज्वरो र घाँटी दुखेपछि परीक्षण गर्दा उनमा पोजिटिभ देखिएको थियो । आयुर्वेदिक औषधि, भिटामिन सेवन र परिवारसँग टाढै बसेर सेल्फ आइसोलेसन बसेपछि एक सातामा कोभिडलाई परास्त गरे उनले ।

‘कैयौं मरिरहेका बेला दुई/तीन दिन त झन् बर्बाद भएर मरिने पो हो कि जस्तो पनि लाग्यो,’ उनी स्मरण गर्छन्, ‘सुरुमा त हामी आतंकित नै भयौं । तर आत्मबल र सतर्क भएर बिस्तारै कोरोना जितेपछि अहिले अरूलाई सचेतना दिने काम गरिरहेको छु ।’ निको भएलगत्तै कँडेलले साउथ इस्टमा बसोबास गर्दै आइरहेका नेपाली वृद्धाहरूलाई राहतसमेत बाँडे ।

विशेष गरी साउथ इस्ट लन्डनका ७० वर्ष नाघेका नेपाली वृद्धा तथा अवकाश प्राप्त गोर्खाहरूलाई आफ्ना तीन वटा फार्मेसीमार्फत घरघरमा गएर निःशुल्क औषधि, फेस मास्क, ग्लोभ्स र ह्यान्ड सेनिटाइजर निःशुल्क वितरण गरिएको कँडेलले बताए । अहिले खोपमा भइरहेको प्रगतिले उनी आफू पनि उत्साहित छन् ।

बेलायतमा झन्डै २ लाख नेपाली बसोबास गरिरहेको ठानिन्छ । भाइरसका कारण अहिलेसम्म ६७ नेपालीले ज्यान गुमाएको दूतावासले जनाएको छ । यस परिस्थितिबीच विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले कोभिड–१९ विरुद्धको खोप विकासमा ठूलो सफलता हासिल गरेको जनाएपछि नेपाली पनि आशावादी छन् ।

अक्सफोर्डले अहिले विकास गरिरहेको खोप सुरक्षित र त्यसले प्रतिरक्षा प्रणालीलाई थप बलियो पार्ने संकेत पाइएको खोपको विकासमा संलग्न वैज्ञानिकहरूले जनाएका छन् । ब्रिटिस सरकारले अहिले विकास भइरहेको कोरोना भाइरस खोपका ९ करोड डोज किन्न अर्डर गरिसकेको छ । यसबाहेक सरकारले अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेका भन्ने कम्पनीसँग मिलेर विकास गरिरहेको १० करोड डोज खोप किन्ने सम्झौता पनि गरिसकेको छ ।

बेलायत कोभिड–१९ बाट प्रभावित युरोपेली मुलुकमध्ये पहिलो हो । यहाँ कोरोना भाइरसबाट करिब ४६ हजार मानिसको ज्यान गइसकेको छ । यसको सम्भाव्य कारकमा मोटोपनाको उच्च दर मानिएको छ जसले टाइप टु डाइबेटिज र उच्च रक्तचाप निम्त्याउने चिकित्सक बताउँछन् ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) सँग आबद्ध नरफोक एन्ड नरविच युनिभर्सिटी हस्पिटलमा कार्यरत डायबेटिज एन्ड इन्डोक्राइन कन्सल्टेन्ट डा. संकल्प न्यौपाने मोटोपनाले डायबेटिज, मुटुसम्बन्धी रोग (कार्डियोभास्कुलर), दम, श्वासप्रश्वास समस्या, हाड जोर्नी दुख्ने, क्यान्सर, हाई ब्लडप्रेसर आदि निम्त्याउने बताउँछन् ।

क्याम्ब्रिज विश्वविद्यालयबाट डायबेटिज विषयमै पीएचडी गरेका न्यौपानेको भनाइमा मानिसहरूको जीवनशैली परिवर्तन, कसरत कम, खेल्ने ठाउँ अभाव, फास्टफुड खाना, (हाई कार्बोहाइड्रेट, फ्याट बढी), बजारमा सजिलै खाना उपलब्ध, मेसिनको काम बढी, हिँडाइ कम आदिले गर्दा मोटोपना बढिरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com