बेरोजगारी विमाको अतिरिक्त साप्ताहिक ६ सयको साटो १७५ दिनेपक्षमा ट्रम्प


प्रकाशित मिति : श्रावण ८, २०७७ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेरोजगारी विमाको अतिरिक्त साप्ताहिक ६ सय डलरलाई १७५ डलरमा झार्नुपर्ने बताएका छन् । काम गुमाएका व्यक्तिले गुमाएको ज्यालाको ७० प्रतिशतकम गर्ने गरी उक्त रकम प्रदान गर्ने जनाइएको छ, जुन १७५ डलरदेखि २ सय डलरसम्म हुन आउँछ ।

गत मार्चमा अमेरिकाको संसदले कोरोनाको महामारीबाट काम गुमाएकाहरुलाई बेरोजगारी बिमा वा महामारी बेरोजगारी सहायताका अतिरिक्त जुलाईसम्म अतिरिक्त साप्ताहिक ६ सय डलरको व्यवस्था गरेको थियो । जुन रकम यसै साता समाप्त हुने भएको छ ।

डेमोक्र्याटहरु अतिरिक्त साप्ताहिक ६ सय डलरको अवधि जनवरीसम्म लम्बाउनुपर्ने पक्षमा छन् । तर रिपब्लिकनहरु नयाँ मापदण्डका साथ अस्थायीरुपमा मात्र बढाउनसकिने पक्षमा छन् । बुधबार रिपब्लिकनसांसद र ह्वाइटहाउसबीच पनि यस्तै खाले समझदारी भएको छ ।

रिपब्लिकनहरु आगामी राहत प्याकेज एक ट्रिलियनको हाराहारीमा बनाउने तयारीमा छन् । आज उक्त प्याकेजबारे थप विवरण सार्वजनिक गरिने जनाइएको छ । यद्यपी प्याकेजबारे ह्वाइट हाउस र रिपब्लिकनहरुबीच आधारभूत सहमति कायम भइसकेको छ ।

यसैहप्ताको तीनवटा बैठकपछि ट्रम्प प्रशासनका उच्च अधिकारीहरु र रिपब्लिकन सिनेटरहरुबीच सहमति कायम भएको हो । उनीहरु आफूहरु अब पूर्णतया एउटै पेजमा रहेको र राम्रो आकारमा रहेको बताएका छन् । बैठकमा बरिष्ठ रिपब्लिकन सिनेटरहरु , ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिन, ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मेडोज लगायतको सहभागिता रहेको थियो ।

आगामी राहत प्याकेज एक ट्रिलियन डलरको हुने सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले बताएका छन् । नयाँ प्रस्तावबारे डेमोक्रेटिक सांसदहरुसँग सहमतिको प्रयास गरिने भएको छ । डेमोक्रेटिक सांसदहरुले रिपब्लिकनलाई दवाव दिन यस अगाडि नै हाउसबाट साढे ३ ट्रिलियन डलरको प्रस्ताव पारित गरिसकेका छन् ।

वार्ताकारहरु अमेरिकनहरुलाई अर्को चरणको राहत चेक दिने विषयमा सहमत भएका छन् । तर पेरोल ट्याक्स कटौतीबारे पनि कुनै सहमति कायम भएको छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com