न्युयोर्क सिटीमा कोरोना पोजेटिभ दरमा २ प्रतिशत, मृत्यु शुन्य


प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार

सोमबारदेखि चौथो चरणमा खुलेको न्युयोर्क सिटीमा कोरोना पोजेटिभ दर २ प्रतिशतमा नै स्थीर रहेको छ । कुल परीक्षण गरिएकाहरुमध्ये २ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको हो ।

न्युयोर्क सिटीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या शुन्य रिपोर्ट गरिएको थियो । कुनै बेलाको कोरोनाको इपीसेन्टर रहेको न्युयोर्क सिटीमा अहिले संक्रमण दर निकै कम भएको छ ।

हिजो न्युयोर्क राज्यभर अस्पतालमा भर्ना हुनेहरुको संख्या ७१४ मा झरेको थियो भने ६७ हजार ६ सय ५९ जनामा परीक्षण गरिएकोमा ७०५ जनामा पोजेटिभ देखिएको थियो । अर्थात् कुलमध्ये १ दशमलव ४ प्रतिशतमा पोजेटिभ देखिएको थियो ।

मंगलबार कोरोना संक्रमणबाट न्युयोर्क राज्यभर ९ जनाको ज्यान गएको गभर्नर एन्ड्रयु कुमोले जानकारी दिएका छन् । यसैबीच गभर्नरले एक ट्वीटमार्फत न्युयोर्क राज्यभर आउटडोर खानाखान अनुमति भएपनि आउटडोर मदिरा सेवन गर्न अनुमति नभएको बताएका छन् ।

यसैबीच न्युयोर्कमा आउँदा क्यारेन्टीनमा बस्नुपर्ने राज्यको सुची थपिएको छ । अब भर्जिनिया र मेरिल्याण्डबाट न्युयोर्क आउनेहरुसमेत अनिवार्य १४ दिन क्वारेन्टीनमा बस्नुपर्ने भएको छ । मंगलबार न्युयोर्कले क्वारेन्टीनमा बस्नुपर्नेको सुचीमा १० वटा नयाँ राज्यहरु थपेको हो ।

यसअगाडि २२ वटा राज्यहरु सुचीमा रहेकोमा मंगलबार १० वटा थपिएको छ भने एउटा हटाइएको छ । थपिएका राज्यहरुमा मेरिल्याण्ड, भर्जिनिया, अलास्का, डेलावर, इन्डियाना, मिजौरी, मोन्टाना, नर्थ डाकोटा, नेब्रास्का र वासिंटन रहेका छन् ।

यसअगाडिदेखि सुचीमा रहेका राज्यहरुमा अलाबामा, अर्कान्सास, एरिजोना, क्यालिफोर्निया, फ्लोरिडा, जर्जिया, आयोवा, आइदायो, कन्सास, लुजियाना, मिसिसिपी, नर्थ क्यारोलिना, साउथ क्यारोलिना, न्यु मेक्सिको, नेभाडा, ओहायो, ओक्लाहोमा, टेनेसी, टेक्सास, युटाह र विसकन्सिन रहेका थिए ।

अब यी ३१ वटा राज्यबाट न्युयोर्क आउनेहरुले न्युयोर्क आउनासाथ आफू आएको स्थानको विवरण र जाने स्थानको विवरणसहित फर्म भरेर सरकारी अधिकारीहरुलाई बुझाउनुपर्छ । साथै उनीहरु न्युयोर्क आइसकेपछि अनिवार्य १४ दिन क्वारेन्टीनमा बस्नुपर्ने नियम रहेको छ ।

न्युयोर्कका अतिरिक्त न्युजर्सी र कनेक्टिकटले पनि संयुक्त रुपमा यो नियम लागु गरेका छन् । अर्थात् उल्लेखित ३१ राज्यबाट तीनवटै राज्यमा आउनेहरु १४ दिन अनिवार्य क्वारेन्टीनमा बस्नुपर्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com