टेक्सासमा रहेको चाइनिज कन्सुलेट बन्द गर्न अमेरिकाको निर्देशन, चीनले जलायो गोप्य कागजात


प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार

अमेरिकाले टेक्सासमा रहेको चाइनजि कन्सुलेट बन्द गर्न निर्देशन दिएको छ । टेक्सासको ह्युस्टनमा रहेको कन्सुलेटका सबै काम कारवाही बन्द गर्न अमेरिकाको सरकारले निर्देशन दिएको हो ।

अमेरिकन बौद्धिक सम्पत्ति र अमेरिकनहरुको व्यक्तिगत सुचनाहरुको संरक्षणका लागि उक्त कन्सुलेट बन्द गर्न आदेश दिएको अमेरिकी विदेश मन्त्रालयले पुष्टी गरेको छ । तर कुन खास कारणले बन्द गर्न भनिएको हो भन्नेबारे वा अमेरिकन बौद्धिक सम्पत्ति र अमेरिकनहरुको व्यक्तिगत सुचनामा कस्तो नोक्सानी पुगेको हो भन्नेबारे केही खुलाइएको छैन ।

कोरोनाको महामारी, ब्यापारयद्ध र चीनले गरेको मानवअधिकार उल्लंघनको अमेरिकी विरोध लगायतका कारणले अमेरिका र चीनबीचको सम्बन्ध गतबर्षदेखि अझ खराब बन्दै गएको छ । अमेरिकी विदेशमन्त्रालयका प्रवक्ताको अर्को वक्तब्यमा चीनले केहीबर्षदेखि गैरकानुनी जासुसी र प्रभावित पार्ने कामकारवाहीहरु ग्रिरहेको आरोप लगाइएको छ ।

मंगलबार साँझ ह्युस्टनको चाइनिज कन्सुलेटको कम्पाउण्डमा धुँवा उडेको देखिएको थियो । उक्त भिडियो स्थानीय मिडियाहरुले शेयर गरेका छन् । अमेरिकाले कन्सुलेट बन्द गर्न भनेपछि कन्सुलेटका अधिकारीहरुले गोप्यता लुकाउन केही कागजातहरु जलाएको जनाइएको छ ।

चीनको विदेश मन्त्रालयले कन्सुलेट बन्द गर्नका लागि अमेरिकाले दिएको निर्देशनले अन्तर्राष्ट्रिय कानुन र दुईदेशबीचको सहमतिको उल्लंघन गर्ने बताएका छन् । चीनको सरकारले अमेरिकाको यो कदमको निन्दा गर्दै यो निर्णय फिर्ता लिन भनेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com