अमेरिकनलाई मास्क लगाउन राष्ट्रपति ट्रम्पबाट प्रोत्साहन


प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार पत्रकार सम्मेलन गरी अमेरिकनहरुलाई मास्क लगाउन प्रोत्साहित गर्दै महामारी अझ खराब हुनसक्ने चेतावनी दिएका छन् । मास्कले समस्या निम्त्याउने भन्दै मास्क लगाउन अस्वीकार गर्दै आएका ट्रम्पले अमेरिकामा संक्रमितको संख्या ४० लाख नाघे लगत्तै र १ लाख ४४ हजार बढीको मृत्यु भएपछि अमेरिकनहरुलाई मास्क लगाउन प्रोत्साहित गरेका हुन् ।

ह्वाइट हाउस कोरोनाभाइरस ब्रिफिङ सुचारु गर्दै ट्रम्पले आफूले खुशीका साथ मास्क लगाउने र मास्कसँग कुनै समस्या नभएको बताएका छन् । सोमबारमात्र ट्रम्पले आफू सबैभन्दा ठूलो देशभक्त भएको भन्दै मास्क लगाएको तस्वीर ट्वीट गरेका थिए । सार्वजनिक स्थलमा मास्क लगाउन अस्वीकार गर्दै आएका उनले गत साता अस्पतालमा जाने क्रममा मास्क लगाएका थिए ।

कसैले पनि सोंचेको भन्दा छिटो कोरोनाबिरुद्धको भ्याक्सिन आउने बताउँदै ट्रम्पले भविश्यमा कोरोना संक्रमणदर अझ बढ्नसक्ने चेतावनी दिएका हुन् । केही क्षेत्रले असाध्यै राम्रो गरेको र केहीले कम राम्रो गरेको ट्रम्पले बताएका छन् ।

अमेरिका अधिकांश राज्यमा कोरोना संक्रमितहरुको संख्या बढ्दो रहेको छ । ३१ वटा राज्यबाट न्युयोर्क आउनेहरुलाई अनिवार्य क्वारेन्टीनको नियम समेत लागु गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com