जनगणनाको गिन्तीमा कागजपत्रविहिनलाई समावेश नगर्ने मेमोमा ट्रम्पबाट हस्ताक्षर


प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनगणनाको गिन्तीमा कागजपत्रविहिनलाई समावेश नगराउने एउटा मेमोमा हस्ताक्षर गरेका छन् । कुन राज्यका लागि संसदमा प्रतिनिधित्व गर्ने कतिजना जनप्रतिनिधिको आवश्यक पर्छ भन्ने कुराको निर्धारण गर्न जनगणनामा परेका कागजपत्रविहिनलाई गिन्ती नगर्ने मेमोमा ट्रम्पले हस्ताक्षर गरेका हुन् ।

अमेरिकाको अध्यागमन र राष्ट्रियता ऐन अन्तरगत कानुनी अध्यागमन स्टाटसमा नरहेकाहरुलाई विभिन्न प्रयोजनका लागि गिन्तीमा समावेश नगरिने अमेरिकाको नीति रहेको ट्रम्पले मेमोमा उल्लेख गरेका छन् । उक्त मेमोमार्फत ट्रम्पले कमर्श सेक्रेटरीलाई जनगणनामा समावेश गरिएका कागजपत्रविहिनहरुको संख्यात्मक विवरण आफूलाई उपलब्ध गराउन निर्देशन दिएका छन् ।

उक्त मेमो अनुशार जनगणनाको विवरण प्राप्त भइसकेपछि राष्ट्रपतिले हरेक राज्यलाई संसदमा कति सिट आवश्यक पर्ने भन्ने निर्धारण गर्नका लागि कागजपत्रविहिनको संख्या घटाउनसक्ने भएका छन् । सार्वजनिक नीति, मतदान अधिकार र संसदमा प्रतिनिधित्व लगायतका विषयमा उत्तरदायीपूर्ण निर्णयका लागि आफूहरुले सही जनगणनाका सुचना उपयोग गर्ने ट्रम्पले वक्तब्यमार्फत जनाएका छन् ।

सेन्ससमा समावेश गरिएका कागजपत्रविहिनहरुको संख्या कसरी निर्धारण गरिने भन्नेबारे अहिलेसम्म केही स्पष्ट छैन । किनभने अमेरिकी जनगणनामा आफ्नो विवरण भर्दा कसैले पनि आफ्नो अध्यागमन अवस्था खुलाउन आवश्यक छैन । जनगणना ब्यूरोले विवरणहरु अन्य निकायलाई दिने अधिकार पनि छैन ।

ट्रम्प प्रशासनले जनगणनाको प्रश्नावलीमा नागरिकताबारेको प्रश्न समावेश गर्न प्रयास समेत गरेको थियो । तर सर्वोच्च अदालतले जनगणनाको प्रश्नमा नागरिकताबारेको प्रश्न समावेश गर्नमा रोक लगाएको थियो ।

जनगणनाको संख्या अमेरिकाको प्रतिनिधिसभामा सिट संख्या निर्धारण गर्न र संघीय सरकारको अरबौं डलर राज्यहरुमा विनियोजनाका लागि उपयोग गरिन्छ । संविधानले अमेरिकामा रहेका सबैको गणना हुनुपर्ने व्यवस्था गरेकाले राष्ट्रपतिले गिन्तीमा कागजपत्रविहिनलाई छुटाउन नसक्ने आप्रवासन अधिकारवादीहरुले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com