अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरी अष्ट्रेलियाको भिसासम्बन्धी नियममा परिवर्तन


प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार

अष्ट्रेलियाको भिसासम्बन्धी नियममा परिवर्तन भएको छ ।

कोभिड-१९ महामारीका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्यामा आएको गिरावटले शैक्षिक क्षेत्र धराशायी हुन सक्ने भन्दै अष्ट्रेलियाले भिसासम्बन्धी पाँचवटा नियमहरुमा परिवर्तन गरेको हो ।

सोमबार ल्याइएको नयाँ नियमअनुसार अष्ट्रेलिया बाहिरबाट विद्यार्थी भिसा आवेदन गर्नेहरुलाई भिसा दिने प्रकृया पुन सुरु गरिने छ ।

महामारीका कारण विगत केही महिनादेखि भिसा दिने प्रकृया रोकिएको थियो । यद्यपि महामारीका कारण अन्तर्राष्ट्रिय सिमाना बन्द भएकोले कहिलेदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरु अष्ट्रेलिया प्रवेश गर्न पाउँछन् भन्ने विषयमा भने केहि खुलाइएको छैन् ।

परिवतर्न गरिएको नयाँ नियमअनुसार महामारीका कारण अध्ययन पुरा नभई विद्यार्थी भिसा अवधि सकिएकाले पुन: विद्यार्थी भिसाका लागि आवेदन दिँदा शुल्क लाग्ने छैन । यसले महामारीका कारण आर्थिक संकटमा परेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भिसा अवधि थप्न केही राहत हुने जानकारहरु बताउँछन् ।

साथै, नयाँ नियमअनुसार अष्ट्रेलिया बाहिरबाट अनलाइनमार्फत अध्ययन गरेका अन्तर्राष्ट्रिय विद्यार्थीहरु अध्ययन सकिएपश्चात पाइने पोष्ट स्टडी वर्क भिसाका लागि योग्य हुनेछन् । यसभन्दा अगाडि पोष्ट स्टडी भिसाका आवेदनका लागि अनिवार्यरुपमा कलेज गएको, शिक्षालयमा भौतिक उपस्थिति भएको जस्ता प्रकृया पुरा गर्नु पर्दथ्यो ।

यो नयाँ नियमअनुसार महामारीका कारण अंग्रेजी भाषा परीक्षाको नतिजा प्रभावित भएकाहरुका लागि थप समय दिइनेछ । यकिन तथ्यांक नभए पनि महामारीका कारण नेपालमा एक हजारभन्दा बढी अष्ट्रेलियाको भिसा पाइसकेका विद्यार्थीहरु अष्ट्रेलिया आउनबाट बञ्चित छन् भने उल्लेख्य संख्याका विद्यार्थीहरु महिनौं देखि भिसा कुरेर बसिरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com