१ ट्रिलियनको राहत प्याकेजबारे ह्वाइट हाउसमा छलफल, के के समेटिदैछ ?


प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार

वासिंटन डिसीसहित विभिन्न ४० भन्दा धेरै राज्यमा कोरोनाको महामारी खराब बन्दै गएको अवस्थामा कम्तीमा एक ट्रिलियन डलरको नयाँ राहत प्याकेजबारे रिपब्लिकन नेताहरु र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच छलफल भएको छ । सोमबार ह्वाइट हाउसमा आगामी प्याकेजको रुपरेखाका बारेमा छलफल भएको हो ।

ओभल अफिसमा भएको छलफलमा उपराष्ट्रपति माइक पेन्स, ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिन, सिनेटका रिपब्लिकन नेता मिच म्याक्कोनेल, हाउसका रिपब्लिकन नेता केभिन म्याक्कार्थे लगायत सहभागी रहेका थिए । अर्को राहत प्याकेजमा अमेरिकनहरुका लागि अर्का राहत चेक समावेश गर्ने र पेरोल ट्याक्स मिनाहा गर्ने लगायतका विषयमा छलफल भएको छ ।

आगामी राहत प्याकेजमा समावेश हुने मुख्य १० तत्वमध्य पेरोल ट्याक्स कटौतीपनि मुख्य रहेको राष्ट्रपति ट्रम्पले बताएका छन् । मंगलबार हुने भेटमा रिपब्लिकन नेताहरुले राहत प्याकेजबारे विस्तारमा जानकारी दिने भएका छन् । डेमोक्र्याटहरुसँग पनि सहमतिका लागि प्रयास सुरु भइसकेको मन्चिनले बताएका छन् ।

दुईसाता लामो विदापछि सांसदहरु यसैसाता वासिंटन डिसी फर्कदै छन् । अहिलेसम्म सांसदहरुले कोरोना भाइरस राहतमा ३ ट्रिलियन डलरको प्याकेज पारित गरिसकेका छन् । जसमा अमेरिकनलाई राहत चेक, बेरोजगारी विमामा अतिरिक्त रकम, साना ब्यापार व्यवसायलाई ऋण तथा सहायता समेटिएको थियो ।

अब नयाँ प्याकेज पारित गर्नका लागि सांसदहरु जुटेका छन् । डेमोक्रेटिक नेता चक शुमरले एउटा पत्रमा रिपब्लिकनहरुले कैयन क्षेत्रलाई नसमेटिकनै प्याकेजको ड्राफ्ट बनाउन लागेको भन्दै आफ्ना पार्टीका सांसदहरुलाई सचेत रहन आग्रह गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com