कोरोना भाइरसपछि चीनको अर्थतन्त्रमा ३.२ प्रतिशतले वृद्धि


प्रकाशित मिति : श्रावण १, २०७७ बिहीबार

चीनको अर्थतन्त्रमा वर्षको दोस्रो त्रैमासिकमा ३.२ प्रतिशतले वृद्धि भएको छ ।

कोरोना भाइरसका कारण गरिएको लकडानले गर्दा विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनको आर्थिक वृद्धि सन् २०२० को पहिलो त्रैमासिकमा ६.८ प्रतिशतले घटेको थियो । तर, बुधबार सार्वजनिक गरिएका तथ्यांकअनुसार चीनको कुल गार्हस्थ उत्पादन (जीडीपी) अप्रिलदेखि जुनसम्म बढेको देखिएको छ ।

चीनले लकडाउन खुकुलो गरेसँगै अर्थतन्त्र उकास्‍न जोड दिएपछि विश्वले नै चीनको आर्थिक वृद्धिको अवस्थालाई नियालिरहेका थिए । यो अंक विज्ञहरूले अनुमान गरेभन्दा बढी भएको र यसले अर्थतन्त्र एकाएक उकालो लाग्‍ने अनुमान गरिएको छ ।

बीबीसीका अनुसार चीन प्राविधिक रूपमा आर्थिक मन्दीबाट जोगिएको छ । बीबीसी न्यूज सिंगारका मारिको ओईले गरेको विश्लेषण अनुसार चीनले अनपेक्षित रूपमा लकडाउनपछि अर्थतन्त्रमा सुधार गरेको हो ।

जर्मनको एक बैंकको एक अध्ययनमा चीनको अर्थतन्त्रको भी सेप रिकभरी  (V आकारको पुनरुत्थान) लगभग पूरा भएको उल्लेख गरिएको छ । गत मेमा कोरोना भाइरस महामारीका कारण चीनले सन् २०२० को लागि आर्थिक वृद्धिको लक्ष्य नराख्‍ने बताएको थियो ।

सन् १९९० यता चीनले वार्षिक वृद्धिको लक्ष्य नराखेको यो पहिलोपटक भएको बताइएको छ ।–बीबीसी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com