ट्रम्पका आर्थिक सल्लाहकार भन्छन् – ‘बेरोजगारको साप्ताहिक ६ सय डलर रोक्नु पहिलो प्राथमिकता’
प्रकाशित मिति : असार ३१, २०७७ बुधबार

अमेरिकी राष्ट्रपतिका नजिकका आर्थिक सल्लाहकार हेरिटेज फाउण्डेशन अर्थशास्त्री स्टेफन मुरले आफूहरुले गर्नुपर्ने पहिलो महत्वपूर्ण काम भनेको बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता लिएकाहरुलाई संघीय सरकारबाट प्राप्त हुँदै आएको साप्ताहिक ६ सय डलर रोक्नु रहेको बताएका छन् । साप्ताहिक ६ सय डलरको अवधि दुईसातामात्र बाँकी रहँदा उनको यो भनाई आएको हो ।
अतिरिक्त साप्ताहिक ६ सय डलर प्रदान गर्दा अमेरिकामा २० लाखसम्म व्यक्ति काममा फर्कन अनिच्छुक रहेको मुरले अनुमान गरेका छन् । रिपब्लिकनहरु पनि उक्त साप्ताहिक ६ सय डलरको अवधि लम्बाउन नहुने पक्षमा रहेका छन् । अतिरिक्त साप्ताहिक ६ सय डलरका कारण काम गुमाएकाहरुले विगतको कामको भन्दा बढी रकम प्राप्त गर्दा काममा फर्कन नचाहेको विश्लेषण गरिएको छ ।
गत मार्चमा पारित २ ट्रिलियन डलरको राहत प्याकेजमा अमेरिकामा करदाताहरुलाई १२ सय डलरको चेक र काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक ६ सय डलरको व्यवस्था गरिएको थियो । डेमोक्र्याट्सहरु भने अतिरिक्त साप्ताहिक ६ सय डलरको व्यवस्था डिसेम्बरसम्म नै लम्बाउनुपर्ने पक्षमा रहेका छन् ।
साप्ताहिक ६ सय डलर प्रदान गर्ने बिललाई राष्ट्रपतिले हस्ताक्षर गरेमा यो बर्षको अन्त्यसम्ममा अमेरिकाले १ करोडसम्म जागिरहरु गुमाउने र यसको प्रभाव निकै नकारात्मक हुने मुरले बताएका छन् । साप्ताहिक ६ सय डलरको अवधि लम्बाउने योजना अर्थतन्त्रका लागि विनाशकारी हुने उनको भनाई छ ।
अर्कोसाता अमेरिकी संसद सुचारु भएपछि नयाँ राहत प्याकेज सार्वजनिक हुने अनुमान गरिएको छ । उक्त राहत प्याकेजमा अमेरिकनहरुका लागि अर्को राहत चेक समावेश गर्ने सन्दर्भमा भने दुबै दलहरु सहमत भएका छन् ।