अमेरिकामा नयाँ राहत प्याकेज आगामी साता संसदमा पेश गरिने, के होला राहत चेक ?
प्रकाशित मिति : ३१ असार २०७७, बुधबार
कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न अमेरिकाको संसदमा आगामी साता नयाँ राहत प्याकेज प्रस्तुत गरिने जनाइएको छ । आगामी साता संसदको कारवाही सुरु हुनेछ भने सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले राहत प्याकेजको ड्राफ्ट प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
ह्वाइट हाउसको योजनालाई समेटेको प्याकेज संसदमा पेश गरिने जनाइएको छ । सिनेटमा बहुमत ५३ जना रिपब्लिकन सांसदहरु रहेपनि म्याक्कोनेललाई राहत प्रस्ताव पारित गराउन दुईदलीय समर्थनको आवश्यकता पर्नेछ । त्यसैले बिलमा रिपब्लिकन र डेमोक्र्याटहरुका एजेण्डा समेटिने सम्भावना रहेको छ ।
अहिलेसम्म राहत प्याकेजमा कुन कुन विषयहरु समेटिने भन्नेबारे केही सार्वजनिक गरिएको छैन । प्याकेजमा दोश्रो राहत चेक पनि समावेश हुने सम्भावना रहेको छ तर त्यसका लागि मापदण्डमा परिवर्तन हुनसक्नेछ । रिपब्लिकनहरुले बार्षिक ४० हजारभन्दा कम आम्दानी हुनेलाईमात्र राहत चेक उपलब्ध गराउने धारणा व्यक्त गरिसकेका छन् ।

दोश्रो चरणमा राहत चेक उपलब्ध गराउने विषयमा दुबै दल र राष्ट्रपति समेत सकारात्मक छन् । तर कति रकमको चेक उपलब्ध गराउनेभन्नेबारे कुनै निष्कर्ष निकालिएको छैन । कमला ह्यारिस लगायतका कतिपय डेमोक्रेटिक नेताहरुले बार्षिक १ लाख २० हजारसम्म आम्दानी हुनेहरुलाई मासिक २ हजार डलर राहत चेक दिनुपर्ने धारणा समेत व्यक्त गरेका छन् ।
अधिकांश डेमोक्र्याट्सहरुले बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायताका अतिरिक्त साप्ताहिक ६ सय डलरको संघीय सहायता यो बर्षको अन्त्यसम्म नै लम्बाउने पक्षमा देखिएका छन् । तर रिपब्लिकनहरु साप्ताहिक ६ सय डलरको अवधि नलम्बाई काममा फर्कनेहरुलाई बोनस दिनुपर्ने पक्षमा छन् ।
नयाँ राहत प्याकेज १ दशमलव ३ ट्रिलियन डलरसम्मको बनाउने रिपब्लिकनहरुको योजना रहेको छ । तर डेमोक्र्याट्सहरु भने ३ ट्रिलियन डलरसम्मको प्याकेजका पक्षमा छन् । अन्तिम राहत प्याकेज २ ट्रिलियन डलरको हाराहारीमा आउने सम्भावना रहेको छ ।





