अब २२ राज्यबाट न्युयोर्क आउनेलाई अनिवार्य क्वारेन्टीन, नियम नमान्नेलाई २ हजार डलर जरिवाना


प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार

न्युयोर्कले ४ राज्यहरु बढाएर कुल २२ राज्यबाट न्युयोर्क आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टीनमा बस्नु पर्ने नियम लागु गरेको छ । यो नियम न्युयोर्क, न्युजर्सी र कनेक्टिकट आउनेहरुका सन्दर्भमा लागु हुनेछ । थपिएका ४ राज्यहरुमा न्यु मेक्सिको, मिनेसोटा, विसकन्सिन र ओहायो रहेका छन् ।

अन्य राज्यहरुमा अलाबामा, अर्कान्सास, एरिजोना, क्यालिफोर्निया, फ्लोरिडा, जर्जिया, आयोवा, आइदाओ, कन्सास, लुजियाना, मिसिसिपी, नर्थ क्यारोलिना, साउथ क्यारोलिना, नेभाडा, ओक्लाहोमा, टेनिसी, टेक्सास र युटाह रहेका छन् । यी सबै राज्यबाट न्युयोर्क आउनेहरु अनिवार्य १४ दिन क्वारेन्टीनमा बस्नुपर्छ ।

यी २२ राज्यबाट कुनै पनि माध्यमबाट न्युयोर्क आउनेहरुले कहाँबाट आएको र कहाँ जाने लगायतका सबै विवरणहरु फर्ममा भरेर उपलब्ध गराउनुपर्ने नियम पनि मंगलबारदेखि कार्यान्वयनमा आइसकेको छ । फर्म नभर्नेहरुलाई २ हजार डलर जरिवाना र अदालतमा बोलाइने जनाइएको छ ।

न्युयोर्कमा पछिल्लो चरणमा कोरोना संक्रमितको संख्या र ज्यान गुमाउनेहरुको संख्यामा कमी आएको छ । सोमबार न्युयोर्क राज्यभर जम्मा ५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । सोमबार ६० हजार ४५ लाई परीक्षण गरिएकोमा ९१२ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

अमेरिकामा अहिलेसम्म झण्डै साढे ३५ लाखमा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या अमेरिकामा झण्डै १ लाख ४० हजार पुगेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com