क्यालिफोर्नियाका जेलमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु, २ हजार ४२३ संक्रमित


प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार

अमेरिकाको क्यालिफोर्नियाका जेलमा कम्तीमा पनि १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सीएनएनका अनुसार उत्तरी क्यालिफोर्नियाको सान कुइनटिनको जेलमा रहेका १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

क्यालिफोर्नियाका जेलहरुमध्ये सबैभन्दा बढी संक्रमित भएको स्थान सान कुइनटिन हो । यहाँको जेलमा १ हजार ४०० जना कोरोना भाइरस संक्रमित फेला परेका थिए । यहाँको जेलमा रहेका १० हजारबाट कैदीलाई घटाएर अहिले ४ हजारमा पुर्‍याइएको छ ।

क्यालिफोर्नियामा हालसम्म २ हजार ४२३ कैदीबन्दीलाई कोरोना संक्रमण भएको छ । ७५५ जना क्यालिफोर्निया डिपार्टमेन्ट अफ करेक्सन एन्ड रिह्याबिलिटेसन (सीडीसीआर) का कर्मचारीलाई पनि कोरोना संक्रमण भएको छ ।

सीडीसीआरले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “सीडीसीआरले जेलमा काम गर्ने कर्मचारी र कैदीहरुको स्वास्थ्य र सुरक्षाका लागि सम्पूर्ण उपायहरु अवलम्बन गरिएका छन् । हामीले कोरोना संक्रमित देखिएसँगै गम्भीरतापूर्वक यसलाई समाधान गर्ने पक्षमा रहेका छौं ।”

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com