१९ राज्यबाट न्युयोर्क आउनेले नियम नमाने २ हजार डलर जरिवाना र अदालतमा पेश


प्रकाशित मिति : असार २९, २०७७ सोमबार

अमेरिकाका विभिन्न १९ वटा राज्यबाट न्युयोर्क आउनेहरुका लागि विशेष नियम सहित न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले कार्यकारी आदेश जारी गर्ने भएका छन् । कुमोले आज एक ट्वीट गर्दै तोकिएका राज्यबाट न्युयोर्क आउनेहरुले न्युयोर्क आउनासाथ आफ्नो सम्पर्क विवरण बुझाउनुपर्ने र नबुझाउनेलाई २ हजार डलर जरिवानाका साथमा अदालतमा बोलाइने बताएका छन् ।

क्वारेन्टीन कार्यान्वयनमा आफूहरु गम्भिर रहेको कुमोले बताएका छन् । एयरपोर्टमा आउनसाथ कहाँबाट आएको हो र कहाँ जाने हो भन्ने सन्दर्भमा सबै विवरणहरु बुझाउनुपर्नेछ । १९ वटा राज्यबाट न्युयोर्क आउनेहरुलाई एयरपोर्टमा भर्न भर्न लगाइने भएको छ । अवतरणपछि विमानस्थल छाड्नुअगाडि उक्त फर्म अधिकारीहरुलाई बुझाउनुपर्नेछ ।

नबुझाउने व्यक्तिलाई २ हजार डलर जरिवानासहित अदालतमा बोलाइने र अदालतले उनीहरुलाई अनिवार्य क्वारेन्टीनको आदेश दिने जनाइएको छ । न्युयोर्क र न्युजर्सीको पोर्ट अथोरिटी न्युयोर्क सिटी क्षेत्रमा उक्त नियम कार्यान्वयनका लागि जिम्मेबार हुनेछ । राज्यका अरु सबै क्षेत्रमा स्थानीय विमानस्थलहरुले नियम कार्यान्वयन गर्नुपर्नेछ ।

न्युयोर्कले कोरोना भाइरस फैलिएका राज्यबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टीनको नियम जुनबाट कार्यान्वयनमा ल्याएको हो । कतिपय विज्ञहरुले यो नियम कार्यान्वयनमा कठिन भएको बताउँदै आएका छन् । कुमोले सुरुमा नियम कार्यान्वयनका सन्दर्भमा छड्के चेक गरिने बताएका थिए ।

अहिले अलाबामा, अर्कान्सास, एरिजोना, क्यालिफोर्निया, डेलावर, फ्लोरिडा, जर्जिया, आयोवा, आइदाओ, कन्सास, लुजियाना, मिसिसिपी, नर्थ क्यारोलिना, नेभाडा, ओक्लाहोमा, साउथ क्यारोलिना, टेनिसी, टेक्सास र युटाहबाट न्युयोर्क आउनेले अनिवार्य १४ दिन सेल्फ क्वारेन्टीनमा बस्नुपर्छ । अब यी राज्यबाट आउनेले आफू आएको र जाने स्थानको विवरणसहित फर्म भरेर बुझाउनुपर्ने गरी नियम ल्याउन लागिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com