शनिबार न्युयोर्कमा कोरोना संक्रमणबाट ५ जनाको मात्र मृत्यु, संक्रमण दर कम र स्थीर


प्रकाशित मिति : असार २८, २०७७ आईतबार

अमेरिकाको फ्लोरिडा लगायतका राज्यमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम भइरहँदा न्युयोर्कमा भने कोरोना संक्रमणको दर कम र स्थीर रहेको छ । शनिबार न्युयोर्क राज्यभर कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको गभर्नर एन्ड्रयु कुमोले जानकारी दिएका छन् ।

शनिबार न्युयोर्क राज्यभर ८ सय १ जना अस्पतालमा भर्ना भएका थिए । आज सार्वजनिक गरिएको तथ्यांक औषत तीनदिनको तथ्यांक हो, जसमा ज्यान गुमाउने र अस्पताल भर्ना हुनेहरुको संख्या कोरोनाको महामारी सुरु भएयताकै सबैभन्दा कम छ ।

गभर्नर कुमोले पछिल्लो तथ्यांक स्थीर र सबैभन्दा कम रहेपनि यसलाई बढ्न नदिने कुरा न्युयोर्कबासीहरुमा भरपर्ने बताएका छन् । सबै मिलेर कोरोनाबिरुद्ध लड्नसक्ने कुरा न्युयोर्कबासीहरुले पूरै अमेरिकालाई देखाएको कुमोले बताएका छन् ।

 

अमेरिकाका अधिकांश राज्यमा भने कोरोना संक्रमित र मृत्यु हुनेहरुको संख्या बढ्दो रहेको छ । अहिले न्युयोर्कमा अमेरिकाका विभिन्न १६ राज्यहरुबाट आउनेहरुलाई अनिवार्य क्यारेन्टीनको व्यवस्था गरिएको छ ।

न्युयोर्कबासीहरुले मास्क लगाएका कारण, सामाजिक दुरी कायम गरेका कारण, बारम्बार हात धोएका कारण र स्थानीय सरकारहरुले राज्यका निर्देशिकाहरु कार्यान्वयन गरेका कारण न्युयोर्कमा संक्रमण दर कम गर्न सम्भव भएको कुमोले जनाएका छन् ।

अहिले अमेरिकाको न्युयोर्क सिटी जुलाई ६ देखि तेश्रो चरणमा खुलिसकेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com