पोर्चुगलमा मानव तस्करी नेटवर्क बिरुद्ध कृषि क्षेत्रमा सेफको अप्रेशन : मानव तस्करीमा संलग्न एसियाली मुलका ३ पक्राउ, १५० कृषि कामदारको उद्धार


प्रकाशित मिति : असार २५, २०७७ बिहीबार

पोर्चुगलमा कृषि क्षेत्रमा हुने मानव तस्करी बिरुद्ध यहाको अध्यागमन प्रहरी सेफले एक बिशेष अप्रेशन गरेको छ। अप्रेशनमा मानव तस्करी नेटवर्कमा संलग्न ३ जना पक्राउ परेका छन् भने मानव तस्करीमा परेका १५० जना कृषि मजदुरको पहिचान र उद्धार गरिएको छ।

मानव तस्करी र अवैध आप्रवासका लागि सहयोग गरेको आरोपमा बुधवार सन्तारम क्षेत्रमा गरिएको अप्रेशनमा उनीहरु पक्राउ परेका हुन्।

त्यस्तै सोही क्षेत्रमा गरिएको ४० सर्च वारन्टमा मानव तस्करीको शिकार भएका १५० जना कृषि मजदुरको पहिचान र उद्धार गरिएको थियो।

स्रोतका अनुसार बिहान दश बजेदेखि शुरु भएको सेफको अप्रेशन निरन्तर चलिरहेको छ। सो अप्रेशन सन्तारम क्षेत्रमा कृषिमा कार्यरत एसियाली आप्रवासीहरूको अवस्था अनुसन्धान गर्ने अनुसन्धानको एक भागको रूपमा चलिरहेको थियो।

अप्रेशनका क्रममा ३ कोठे घरमा १६ जना भन्दा बढी मान्छेलाई राखिएको र शौचालयको अभाबमा कोठामा नै पिसाब गर्ने गरेको भेटिएको थियो। त्यस्तै एउटै कोठामा ६ जनाभन्दा बढी राखिएको र भान्सा कोठाको भुइमा समेत सुताईएको सेफले जनाएको छ ।

सो अप्रेशनमा मानव तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ३ जना र मानव तस्करीको शिकार भएका र उद्धार गरिएका १५० जना सबै एशियाली मुलका रहेको सेफले जनाएको छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com