अमेरिकाले राष्ट्रसंघलाई दियो विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध तोडेको औपचारिक सुचना


प्रकाशित मिति : असार २३, २०७७ मंगलबार

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आफू उक्त संगठनबाट अलग भएको औपचारिक सुचना पठाएको छ । आज संयुक्त राष्ट्रसंघका महासचिव र संसदलाई उक्त सुचना पठाइएको ह्वाइट हाउसले जनाएको छ ।

सिनेटर बब मेनेन्डेजले अमेरिकी राष्ट्रपतिले संसदमा उक्त सुचना दिएको पुष्टी गरेका छन् । तर विश्व स्वास्थ्य संगठनले यसबारे कुनै औपचारिक प्रतिकृया जनाएको छैन ।

विश्व स्वास्थ्य संगठनले कोरोनाको महामारीका सन्दर्भमा सन्तोषजनक काम नगरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मे महिनामा नै विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध तोड्ने बताएका थिए । विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध तोडेर उक्त फण्ड अमेरिकाले विश्वब्यापी रुपमा अत्यावश्यक जनस्वास्थ्यका विषयमा लगाउने ट्रम्पले बताएका छन् ।

ट्रम्पले गत अप्रिलमा विश्व स्वास्थ्य संगठनलाई अमेरिकी सहायता रोक्ने घोषणा गरेका थिए । सन् २०१९ मा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य एजेन्सी बजेटको १५ प्रतिशत अमेरिकाले योगदान दिएको थियो ।

अमेरिकी राष्ट्रपतिलाई सामान्यतया संसदले छुट्याएको बजेट तोकिएको बाहेक अन्य क्षेत्रमा लगाउने अधिकार हुँदैन । हाउस स्पीकर न्यान्सी पेलोसीले यसलाई खतरनाक र गैरकानुनी बताएकी थिइन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com