टिकटक लगायतका चाइनिज एपमा प्रतिबन्ध लगाउने अमेरिकी तयारी


प्रकाशित मिति : असार २३, २०७७ मंगलबार

वासिंटन र बेइजिङबीचको राजनीतिक तनाव बढ्दै गर्दा अमेरिकाले टिकटक लगायतका चाइनिज सोसल मिडिया एपहरुमा अमेरिकामा प्रतिबन्ध लगाउनेबारे सोंचविचार गरिरहेको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले टिकटक लगायतका चाइनिज एपहरु अमेरिकामा प्रतिबन्ध लगाउनेबारे  विचार गरिरहेको बताएका हुन् ।

भारतमा टिकटक लगायतका चाइनिज एपहरुमा प्रतिबन्ध लगाइएको छ भने टिकटकले हङकङ छाड्ने भएको छ । यसैबीचमा अमेरिकाले पनि टिकटक लगायतका चाइनिज एपहरुमा प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

यदि तपाईको व्यक्तिगत सुचनाहरु चाइनिज कम्युनिष्ट पार्टीको हातमा पुगेको चाहनुहुन्छ भनेमात्र चाइनिज एपहरु डाउनलोड गर्नुपर्ने वासिंटनका एकजना उच्च अधिकारीले बताएका छन् । अमेरिकाले टिकटक लगायतका चाइनिज एपहरुमाथि कहिले प्रतिबन्ध लगाउँछ भन्नेबारे केही बताइएको छैन ।

माइक पम्पिओको प्रतिकृयापछि टिकटकका प्रवक्ताले आफ्नो एपको नेतृत्व भने अमेरिकन सीईओले गरिरहेको र प्रयोगकर्ताको सुरक्षा आफ्नो प्राथमिकता रहेको बताएका छन् । आफूहरुले चिनिया सरकारलाई कहिलेपनि प्रयोगकर्ताका डाटाहरु उपलब्ध नगराएको उनको भनाई छ ।

टिकटक बेइजिङमा मुख्यालय भएको स्टार्टअप हो । जसको अमेरिकी राजनीतिज्ञबाट पटकपटक राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै आलोचना हुँदै आएको छ । टिकटकले भने आफ्नो डाटासेन्टर चाइनाभन्दा बाहिर रहँदै आएको बताएको छ । अमेरिकी प्रयोगकर्ताका डाटाहरु अमेरिकामा नै स्टोर गरिएको र सिंगापुरमा व्याकअप गरिएको टिकटकको भनाई छ ।

अमेरिका र पश्चिमा देशहरुमा समेत टिकटक लोकप्रिय रहेको छ । चाइनाभन्दा बाहिर यतिधेरै लोकप्रियता कमाउनेमा टिकटक पहिलो चाइनिज एप हो । यो अहिलेसम्म ३१५ मिलियनचोटी डाउनलोड गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com