कोरोना संक्रमण देखिएपछि बेलायतका तीन पब फेरि बन्द


प्रकाशित मिति : असार २३, २०७७ मंगलबार

कोरोना भाइरस संक्रमण देखिएपछि बेलायतका तीन पब फेरि बन्द गरिएका छन्। बेलायत सरकारले गत शनिबारदेखि लकडाउन थप खुकुलो बनाउंदै इङ्ल्यान्डका पब, रेस्टुराँ खोल्न अनुमति दिएको केही दिनमै पब फेरि बन्द गरिएका हुन् ।

पबमा आएका ग्राहकहरुको कोरोना परीक्षणमा पोजिटिभ देखिएपछि पुन केहि समयका लागि ती पब बन्द गरिएका छन् । ग्राहकमा कोरोना पोजिटिभ देखा परेका कारण पुन: बन्द गर्नुपरेको ‘द लाइट हाउस किचन एण्ड कार्भरी’ ले जानकारी गराएको छ । आफ्ना स्टाफहरुको परीक्षण गरिने र सुरक्षित महशुस भएपछि पुन संचालन गरिने कम्पनीले बताएको छ ।

वेष्ट योर्कशायरस्थित ‘द फक्स एण्ड हउन्ड्स इन ब्याट्ली’ ले पनि आफूकहाँ आएका ग्राहकले कोरोना पोजिटिभ भएको जानकारी दिएपछि अनिश्चितकालका लागि बन्द गरिएको घोषणा गरेको छ । पूर्ण रुपमा सफाई गरेपछि सुरक्षित भएमा पुन संचालन गरिने कम्पनीले जानकारी दिएको छ ।

तेस्तै ‘द भिलेज होम पब’ ले पनि संक्रमितलाई आइसोलेसनमा राखिएको बताउदै पब तत्काल बन्द गरिएको जानकारी गराएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने उद्देश्यले बेलायतमा गत मार्च २३ तारिखबाट लकडाउन घोषणा गरिएको थियो । गत शनिबार देखि पब, होटल, रेष्टुरेन्ट लगायतका व्यवसायलाई पनि संचालन गर्न सरकारले अनुमति दिएपछि यहाँका जनताहरुले निकै हर्सौल्लास मनाए । लकडाउन खुलेको शनिबारको दिनलाई ‘सुपर स्याटरडे’ को रुपमा घोषणा पनि गरे । तर दुई दिनपनि बित्न नपाउंदै बेलायतका तीनवटा पबहरुको ढोका फेरी बन्द भएका छन् ।

बेलायतमा लकडाउन खुकुलो पारेपछि कोरोना संक्रमण झन् बढ्न सक्ने विज्ञहरुले बताउंदै आएका छन् । बेलायतमा लकडाउनका नियमहरुको प्रशस्त उलंघन हुँदै आइरहेका छन् । अझै पनि कोरोना संक्रमितको संख्या दिनहुँ एक हजारको हाराहारीमा बढ्दै गैरहेको छ ।

लकडाउन खुकुलो पार्नुको अर्थ कोरोना संक्रमण निर्मूल भइसकेको होइन भन्दै सचेत रहन सरकारले अनुरोध गर्दै आएको छ । सामाजिक दूरी कायम राख्न र भीडभाडमा नजान समेत सरकारको आग्रह छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com