क्यालिफोर्नियामा कोरोना प्रभावित नेपालीलाई १९ हजार डलर सहयोग


प्रकाशित मिति : असार २२, २०७७ सोमबार

अमेरिकाको क्यालिफोर्नियामा रहेका नेपालीलाई १९ हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराइएको छ । कोरोनाको कारण प्रभावित बनेका नेपालीहरुलाई स्थानीय संघसस्थाले सहयोग उपलब्ध गराएका हुन् ।

क्यालिफोर्निया राज्यको सान्फ्रान्सिस्को आसपासमा रहेका नेपालीहरुलाई सहयोग उपलब्ध गराइएको नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स)का महासचिव कैलाश थापाले जानकारी दिएका छन् । यो संस्थाको समन्वयमा गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टर, दि व्हाइट जोन, सन्नी सगरमाथा समाजलगायतका संस्थाहरुले कोरोना प्रभावित नेपालीहरुलाई सहयोग उपलब्ध गराएको हो ।

समस्यामा परेका नेपाली विद्यार्थी, अमेरिकी सरकारबाट राहत पाउन नसकेका नेपालीलाई आपत्कालीन अवस्थामा सहयोग उपलब्ध गराइएको जानकारी न्यान्सले दिएको छ । राहतका लागि व्यक्ति तथा सस्थाहरुबाट करिव २० हजार डलर संकलन भएको थियो । योमध्ये एक हजार डलर नगद बाँकी रहेको न्यान्स कार्यसमिति सदस्य यादव पोखरेलले बताएका छन् ।

आर्थिकरुपमा समस्यामा परेका ६८ जना एकल तथा परिवारलाई १७ हजार ४ सय डलर उपलब्ध गराइएको थियो । त्यस्तै १ हजार ४ सय डलरको मेडिकल सामाग्री उपलब्ध गराइएको जानकारी पनि न्यान्सले दिएको छ ।

अन्तर्राष्ट्रिय विद्यार्थीको हैसियतमा अमेरिकामा रहेका नेपालीलाई असहज अवस्था रहेको र यस्तो आर्थिक सहयोगले उनीहरुलाई तत्कालका लागि केही राहत मिलेको सस्थाले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com