कोरोना प्रभावितलाई राहत स्वीकृति अवधि अगस्त ८ सम्म थप्ने पीपीपीमा ट्रम्पले गरे हस्ताक्षर


प्रकाशित मिति : असार २०, २०७७ शनिबार

अमेरिकामा कामदारको तलबका लागि विजनेशहरुलाई प्रदान गरिने मिनाहा हुने पेचेक प्रोटेक्सन ऋण अगस्त ८ सम्म स्वीकृत गर्न एसबीएलाई अनुमति दिने बिलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् । राष्ट्रपति ट्रम्पले शनिबार उक्त बिलमा हस्ताक्षर गरेपछि पीपीपी ऋण लिन चाहने विजनेशहरुलाई अगस्त ८ सम्म बाटो खुलेको छ ।

अमेरिकी संसदका दुबै सदनबाट यो बिल एकमतले पारित भएको थियो । पेचेक प्रोटेक्सन ऋणको डेडलाइन जुन ३० तोकिएपनि सुरुमा सिनेटले र पछि हाउसले यो बिल एकमतले पारित गरेको थियो ।

पीपीपीका लागि छुट्याएको झण्डै १३० बिलियन डलर बाँकी रहेकै अवस्थामा आगामी दिनमा पनि ऋण स्वीकृत गर्नेगरी बिल कार्यान्वयनमा आएको हो ।

यो बिलले एसबीएलाई पेचेक प्रोटेक्स ऋण निरन्तररुपमा अगस्त ८ सम्म नै स्वीकृत गर्नका लागि अधिकार प्रदान गर्दछ । अहिलेसम्म एसबीएले ४८ लाख विजनेशलाई झण्डै ५१९ बिलियन डलर ऋण स्वीकृत गरिसकेको छ । न्युयोर्कमामात्र ३ लाख १६ हजार ८ सय १४ विजनेशले ३८ बिलियन डलर पीपीपी ऋण लिएका छन् ।

यसैबीच अमेरिकी सरकारले कोरोनाको महामारीमा पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगत ऋण लिने विजनेशहरुको विवरण सार्वजनिक गर्ने जनाएको छ । साना ब्यापार प्रशासन एसबीए र ट्रेजरी डिपार्टमेन्टले पीपीपी ऋण लिने विजनेशहरुको विवरण सार्वजनिक गर्ने घोषणा गरेका हुन् ।

तर एकलाख ५० हजार डलरभन्दा बढी ऋण लिने विजनेशहरुको नाम र विवरणमात्र सार्वजनिक गरिने भएको छ । डेढलाख डलरभन्दा कम ऋण लिने विजनेशको नाम भने सार्वजनिक नगरिने तर कस्ता प्रकारका विजनेशहरुले कुल कति ऋण लिए भन्ने तथ्यांक भने सार्वजनिक गरिनेछ ।

यसअगाडि पीपीपी अन्तरगत ऋण लिने विजनेशहरुको विवरण सार्वजनिक नगरिने बताइएको थियो । सिनेटको सुनुवाईमा ट्रेजरी सेक्रेटरीले विजनेशहरुको स्वामित्वका रुपमा उनीहरुले लिएको पीपीपी ऋण सार्वजनिक नगरिने बताएका थिए ।

पीपीपी ऋण ६० प्रतिशतभन्दा बढी पेचेकमा प्रयोग गरेमा मिनाहा गर्ने प्रावधान सरकारले ल्याएको छ । विगतको तुलनामा खर्च प्रावधानमा लचकता अपनाइएको हो । विगतमा ८ हप्ताभित्र खर्च गर्नुपर्ने प्रावधानलाई बढाएर २४ हप्ता बनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com