कतार एयरवेजका यात्रुलाई मास्कका साथमा फेस शिल्ड अनिवार्य, कर्मचारीलाई नयाँ पोशाक


प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार

कतार एयरवेजले आफ्ना रोकिएका कैयन उडानहरु सुचारु गरिरहँदा मापदण्डहरुलाई पनि परिस्कृत गरेको छ । अब कतार एयरवेजमार्फत यात्रा गर्ने यात्रुहरुले अनिवार्य मास्क मात्र होइन अनुहार छोप्ने फेस शिल्ड समेत लगाउनुपर्नेछ ।

अहिलेसम्म मास्क मात्र लगाए हुनेमा अब यात्रुहरुले फेस शिल्ड लगाएरमात्र जहाज चढ्न पाउने भएका छन् । जहाज चढ्ने बेलामा यस्तो फेस शिल्ड गेटमा प्रदान गरिनेछ । दोहाबाट उडान गर्नेलाई चेकइनको समयमा शिल्ड दिइनेछ ।

शिल्डहरु दुई साइजका रहेका छन् । जवानहरुका लागि र बालबालिकाहरुका लागि फरक फरक साइजमा शिल्डहरु उपलब्ध गराइनेछ । इकोनोमी श्रेणीमा यात्रा गर्नेहरुले यात्रा अवधिभर मास्क र फेस शिल्ड लगाउनुपर्नेछ । तर खाना खाने बेलामा भने अनिवार्य छैन ।

विजनेश श्रेणीमा यात्रा गर्नेहरुलाई जहाज चढ्ने बेलामा मास्क र फेस शिल्ड अफर गरिनेछ । तर उनीहरुको सिट फराकिलो हुने भएकाले उनीहरुलाई यात्रा अवधिभर मास्क र शिल्ड अनिवार्य भने गरिएको छैन । त्यस्तै २ बर्षभन्दा कम उमेर बच्चाहरुलाई मास्क र शिल्ड प्रयोग नगर्न सुझाव दिइएको छ ।

शिल्डका साथमा यात्रुहरुलाई एउटा किट पनि प्रदान गरिनेछ , जसमा एकपटक प्रयोग गर्न मिल्ने सर्जिकल मास्क, पाउडर फ्रि पञ्जा र ह्याण्ड सेनिटाइजर समेत हुनेछ । विजनेश श्रेणीमा यात्रा गर्नेहरुले ७५ एमएलको अतिरिक्त ह्याण्ड सेनिटाइजर पाउनेछन् ।

त्यस्तै कतार एयरवेजका कर्मचारीहरुका लागि पीपीईको व्यवस्था गरिएको छ । युनिफर्म भन्दा बाहिर लगाउन मिल्ने पीपीई, चस्मा, पञ्जा र मास्क लगाएर कर्मचारीहरुले सेवा प्रदान गर्ने भएका छन् । नयाँ गाउनमा कतार एयरवेजको लोगो समेत हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com