अमेरिकामा अर्को राहत प्याकेज अगस्तभन्दा अगाडि आउने सम्भावना कम


प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार

अमेरिकी सरकारकाले कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न दोश्रो चरणको राहत प्याकेज ल्याउने सन्दर्भमा अहिले गृहकार्य भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोश्रो चरणको राहतका सन्दर्भमा आफू सकारात्मक रहेको र डेमोक्र्याट्सहरुले प्रस्ताव गरेभन्दा ठूलो राहत उपलब्ध गराइने बताइसकेका छन् ।

तर संसदबाट राहतबारेको बिल पारित भने भइसकेको छैन । संसदको तालिका हेर्दा जुलाईमा राहत प्याकेजबारेको बिल पारित हुने वा अमेरिकनहरुले राहत चेक प्राप्त गर्ने कुनै सम्भावना देखिन्न । यद्यपी आगामी प्याकेजमा राहत चेक समावेश हुने नहुने अझै टुंगो लागेको छैन । जुलाई ३ बाट संसदको छुट्टी सुरु भइसकेको छ भने जुलाई २० भन्दा अगाडि संसदको कारवाही सुरु हुनेछैन ।

यो विदाको अवधिमा सांसदहरुले अर्को राहत प्याकेजमा दोश्रो चरणको राहत चेक समावेश गर्ने वा नगर्ने भन्ने सन्दर्भमा निर्णय गर्नेछन् । जुलाई २० देखि अगस्त ७ सम्म संसद सुचारु हुने भएकाले यही अवधिमा संसदबाट बिल वा प्याकेजहरु पारित गर्नुपर्ने हुन्छ । अर्थात् ससद समक्ष राहत प्याकेज पारित गर्ने १५ दिनको अवधि हुनेछ ।

संसदले दोश्रो राहत प्याकेज अगस्त ७ अगाडि नै पारित गर्ने सम्भावना रहेको छ । किनभने सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनलले आफूले राहत प्याकेज अगस्तमा संसद छुट्टीमा जानु अगाडि नै पारित भएको चाहने बताइसकेका छन् । किनभने अगस्त १० देखि संसदको छुट्टी सुरु भएपछि सेप्टेम्बर १० सम्म संसदीय कारवाही हुनेछैन ।

अब खुल्ने संसदीय कारवाहीमा कुनै राहत प्याकेज पारित नभएमा राहत प्याकेज पारित गर्नका लागि सेप्टेम्बर कुर्नुपर्नेछ । किनभने संसदको कारवाही सेप्टेम्बर १० देखि २५ सम्म सुचारु हुनेछ । तर त्योभन्दा अगाडि नै राहत प्याकेज ल्याउनेमा सांसदहरु सकारात्मक देखिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com